काठमाडाैँ। नेपालका करिब ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ। संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले सार्वजनिक गरेको ‘ग्रोइङ अप इन अ क्लाइमेट हटस्पट’ शीर्षकको प्रतिवेदन अनुसार जलवायु परिवर्तन र वातावरणीय प्रदूषणका कारण नेपालका लाखौँ बालबालिकाको स्वास्थ्य, शिक्षा र भविष्य संकटमा परेको छ।
प्रतिवेदन अनुसार नेपालमा ९९ लाख बालबालिका वायु प्रदूषणको जोखिममा रहनुका साथै ७३ लाख बालबालिका खडेरी, ५७ लाख बालबालिका अत्यधिक गर्मी र २९ लाख बालबालिका वर्षाजन्य पहिरोको प्रत्यक्ष जोखिममा छन्। त्यस्तै, करिब २४ लाख बालबालिकाले एकैपटक विभिन्न उच्च तीव्रताका जलवायुजन्य प्रकोपको सामना गरिरहेको युनिसेफले जनाएको छ।
जलवायुजन्य संकटले बालबालिकामा कुपोषण, बालविवाह, बालश्रम र सरुवा रोगको प्रकोप बढाएको छ। हाल नेपालका २२ प्रतिशत बालबालिका बहुआयामिक गरिबीमा छन भने ५ वर्षमुनिका प्रत्येक चारमध्ये एक बालबालिका पुड्कोपनबाट प्रभावित छन्। यस्तो जोखिम गरिब, सीमान्तकृत र दुर्गम क्षेत्रका बालबालिका तथा बालिकाहरूमा अझ बढी देखिएको छ।
युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुंगाले जलवायु संकट क्रमशः बालअधिकारको संकटमा परिणत भइरहेको बताएकी छन्। समस्या सिर्जनामा बालबालिकाको योगदान नभए पनि त्यसको ठूलो भार उनीहरूले नै बोक्नुपरेको भन्दै उनले सरकारलाई बजेट, नीति र अनुकूलन योजनामा बालबालिकालाई केन्द्रमा राख्न आग्रह गरेकी छन्।


