काठमाडाैँ । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै आजदेखि सुनको असर्फी तथा चाँदीको मेडालियनको बिक्री वितरण सुरु गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत रहेको टक्सार महाशाखाले आजका लागि असर्फी र मेडालियनको बिक्री मूल्य निर्धारण गर्दै बिक्री खुलाएको हो।
राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको मूल्यसूची अनुसार २.५ ग्रामको सुनको असर्फी प्रतिथान ६५ हजार ४०० रुपैयाँ तोकिएको छ। त्यसैगरी, १० ग्रामको चाँदीको मेडालियन प्रतिथान ३ हजार ५०० रुपैयाँ कायम गरिएको छ।
तोकिएको मूल्यमा सुनको असर्फी तथा चाँदीको मेडालियन खरिद गर्न बिहानैदेखि राष्ट्र बैंकको टक्सार महाशाखामा सर्वसाधारण तथा क्रेताहरूको बाक्लो भीड लागेको छ।


