काठमाडौं | नेपालले पछिल्ला वर्षहरूमा ऊर्जा निर्यातमा ऐतिहासिक फड्को मारेको छ। नेपालको विद्युत् प्राधिकरणले हालै भारतलाई थप २५१ मेगावाट बिजुली निर्यात गर्ने निर्णय गरेको छ, जसले नेपालको ऊर्जा निर्यातलाई नयाँ उचाइमा पुर्याएको छ। यो निर्यातसँगै, नेपाल दक्षिण एसियामा सबैभन्दा धेरै विद्युत् निर्यात गर्ने देशको रूपमा उदाएको छ।
प्राधिकरणले जनाए अनुसार, यो थप बिजुली भारतका बिहार र हरियाणा राज्यहरूमा आपूर्ति गरिनेछ। प्रति युनिट ८ रुपैयाँ ७२ पैसामा बिक्री गरिने यो विद्युत् कटैया, रक्सौल, र रामनगर प्रसारण लाइनमार्फत बिहारमा निर्यात हुनेछ ।
हरियाणाले पहिले नै नेपालबाट १०९ मेगावाट विद्युत् खरिद गरिरहेको थियो, र अब थप १२५.८९ मेगावाट विद्युत् निर्यात हुनेछ। यस्तै, बिहारलाई थप १२५ मेगावाट बिजुली आपूर्ति गरिने छ। यस निर्यातको साथ, भारतका विभिन्न राज्यस्तरका वितरण कम्पनीहरूलाई नेपालले हालसम्म ३६० मेगावाट विद्युत् बिक्री गरिसकेको छ।
सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट ३९ मेगावाट बिजुली आयातको अनुमति दिएको थियो, जसबाट नेपालको विद्युत् निर्यात यात्रा सुरु भएको थियो। हाल, यो आँकडा २४ गुणाले बढ्दै ९४१ मेगावाट पुगेको छ। यो मात्रामा विद्युत् निर्यात गर्न पाउनु नेपालका लागि एक प्रमुख उपलब्धि हो, जसले नेपाललाई जलविद्युत् शक्तिको रूपमा स्थापित गरिदिएको छ।
नेपालले हरेक वर्षको वर्षायाममा उत्पादन भएको अतिरिक्त बिजुली भारतको प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौताका माध्यमबाट भारतमा निर्यात गर्दै आएको छ। यसै क्रममा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य रहेको बताएका छन्।
नेपालले २०८०/०८१ आर्थिक वर्षमा भारतलाई १ अर्ब ९५ करोड युनिट बिजुली निर्यात गरेर १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको थियो। यो उपलब्धिले नेपाललाई दक्षिण एसियामा सबैभन्दा धेरै विद्युत् निर्यात गर्ने देशको रूपमा स्थापित गरेको छ। नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने लक्ष्य राखिएको छ।
यो सबै उपलब्धिको बावजुद, नेपालले अझै पनि ऊर्जा निर्यातको लागि नयाँ सम्भावनाहरू खोजिरहेको छ। बंगलादेशलाई ४० मेगावाट बिजुली निर्यात गर्ने योजना पनि बनाइएको थियो, तर बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण यो योजना हाललाई स्थगित भएको छ।



