Sunday, September 15, 2024
समाजइटहरीमा नेवार समुदायले गाईजात्रा पर्व मनाए

इटहरीमा नेवार समुदायले गाईजात्रा पर्व मनाए

इटहरी | काठमाडौंमा विशेष रूपमा नेवार समुदायले मनाउँदै आएको गाईजात्रा पर्व अब तराईका जिल्लाहरूमा पनि लोकप्रिय हुँदै गएको छ ।

इटहरीमा नेवार समाजले संयुक्त रूपमा गाईजात्रा पर्व मनाएका छन् , जसमा वडा नम्बर ४, ६, र १६ का नेवार समुदायका सदस्यहरू सहभागी भएका छन् । यो पर्व दिवंगत आफन्तहरूको सम्झनामा मनाइन्छ, जहाँ साना बालक तथा युवालाई विशेष रूपमा सिँगारी, गाई वा मानिसको रूप दिन्छन् र तिनीहरूलाई आ–आफ्ना इलाकामा परिक्रमा गराइन्छ ।

पहिले यो पर्व काठमाडौंमा मात्र सीमित थियो, तर व्यापार र कामकाजको सिलसिलामा नेवार समुदाय तराई झरेपछि यो पर्व तराईका जिल्लाहरूमा पनि मनाउन थालिएको हो । यस वर्ष गाईजात्रामा सहभागिता जनाउनेको संख्या उल्लेख्य रूपमा बढेको छ र समुदायका धेरै मानिसहरूले यो पर्वमा सक्रिय सहभागिता जनाएका छन् ।

दिवंगत आफन्तहरूको सम्झनामा इटहरीका नेवार समुदायहरूको संयुक्त आयोजनामा गाइजात्रा मनाइएको नेवार समाज इटहरीका अध्यक्ष कालिदास श्रेष्ठले बताए ।

इटहरीमा नेवार समुदायको महत्त्वपूर्ण योगदान रहेकाले समुदायको सम्मान र आगामी पुस्तालाई जोड्नका निम्ति मंगलबार सार्वजनिक विदा दिएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए । गाइजात्राको अवसरमा इटहरीमा प्रत्येक वर्ष वार्षिक क्यालेन्डरमा स्थानिय विदा रहने उनको भनाइ छ ।

गाईजात्रा पर्वले समुदायमा एकता र सांस्कृतिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलिरहेको नेवार समाज इटहरीका सचिव गोपाल श्रेष्ठले जानकारी दिए । इटहरीमा पनि हरेक वर्ष गाइजात्रा मनाउदै जाने आयोजकको योजना रहेको छ ।

नेवार समुदायको गाइजात्रा पर्वको अवसरमा मंगलबार इटहरी उपमहानगरपालिकाले सार्वजनिक विदा दिएको छ । गाईजात्रामा लाखेजात्राले पनि विशेष स्थान पाएको छ । लाखेजात्रामा विभिन्न रूपरंगमा सजिएका लाखेहरूले यो पर्वको महत्वलाई थप बढाएका छन् ।

लाखेजात्रामा तराईका अन्य समुदायका मानिसहरू पनि सहभागी हुने गरेका छन्, जसले सांस्कृतिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ । गाईजात्रा पर्वको प्रारम्भ राजा प्रताप मल्लले पुत्र शोकले विह्वल आफ्नी रानीलाई संसारको सबैले यस्तै दुःख बेहोर्नु पर्छ भन्ने सन्देश दिन सुरु गरेका थिए । यो पर्व अहिले पनि समाजमा सान्दर्भिक रहँदै आएको छ । नेवार समाजले यस पर्वलाई निरन्तरता दिँदै जाने र सांस्कृतिक परम्पराको संरक्षण गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img