अर्थ व्यापारनेपालमा ५० वर्ष पुग्ने ऊर्जा स्रोत

नेपालमा ५० वर्ष पुग्ने ऊर्जा स्रोत

दैलेख | यो साता नेपालका लागि ऊर्जा क्षेत्रमा ऐतिहासिक उपलब्धि देखिएको छ। दैलेख जिल्लाको जलजले क्षेत्रमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डार फेला परेको छ। चीनको सरकारी संस्था चाइना जिओलोजिकल सर्भेले २०८० सालको वैशाखदेखि सुरु गरेको अनुसन्धानको प्रारम्भिक नतिजा अनुसार यो भण्डार नेपालका लागि ५० वर्षसम्म पुग्ने अनुमान गरिएको छ। योसँगै, निराशा र हतोत्साहले ढाकिएको ‘नेपालमा केही हुँदैन’ भन्ने आम बुझाइलाई तोड्दै जनतामा नयाँ आशा र सम्भावनाको झिल्को देखिएको छ।

यो अनुसन्धान चीनसँग सन् २०१५ (२०७२ साल) मा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा गरिएको समझदारीपछि सुरु भएको थियो। अन्य क्षेत्रमा ढिलासुस्ती गर्ने भनिएका चिनियाँहरूले ग्यास अन्वेषणमा भने उल्लेख्य गति देखाए। चीन सरकारकै लगानीमा सम्पन्न यो परियोजनाका लागि ३ अर्ब रुपैयाँ खर्च गरिएको छ। अझ विस्तृत प्रतिवेदन यही वर्ष सार्वजनिक हुने अपेक्षा गरिएको छ।

नेपालमा पेट्रोलियम पदार्थको खोजबिनको इतिहास ४ दशक पुरानो भए पनि अहिलेसम्म ठोस उपलब्धि देखिएको थिएन। मोरङदेखि दैलेखसम्म विभिन्न सम्भावित क्षेत्रको परीक्षण गरिए पनि विगतमा परिणाम निराशाजनक थियो। तर दैलेखको यसपटकको खोजले त्यो निराशालाई उत्साहमा बदलिदिएको छ। विज्ञहरूका अनुसार अन्तिम प्रतिवेदन प्राप्त भएको एक वर्षभित्रै ग्यासको व्यावसायिक उत्पादन थाल्न सकिने सम्भावना बलियो देखिएको छ।

हाल नेपालले कुल आयातको करिब १८ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थमै खर्च गर्दै आएको छ। २०८०/८१ मा मात्र २ खर्ब ६८ अर्ब रुपैयाँको इन्धन आयात भएको थियो, जसमध्ये खाना पकाउने एलपी ग्यासमा करिब ५५–६० अर्ब बराबरको रकम गइसकेको छ। दैलेखमा भेटिएको मिथेन ग्यास खाना पकाउनेदेखि सवारीसाधन र रासायनिक मल उत्पादनसम्म उपयोग गर्न मिल्ने खालको भएकाले यसको प्रयोग तत्काल सुरु गर्न सकिने विज्ञहरू बताउँछन्। यहाँ भेटिएको ग्यास अन्तर्राष्ट्रिय स्तरमा रकेट इन्धनको रूपमा समेत प्रयोग हुने प्रकारको हो।

यद्यपि, व्यावसायिक उत्पादन सरल छैन। यसका लागि ठूला पूर्वाधार, प्रविधि, र लगानी आवश्यक पर्नेछ। नेपाल सरकारको आफ्नै क्षमताले भ्याउन सक्ने अवस्था नरहेमा विदेशी लगानी भित्र्याएर साझेदारीमा उत्पादन थाल्न सकिने स्पष्ट सन्देश पनि यो सफलताले दिएको छ। ग्यास उत्पादन सुरु भएमा नेपालले इन्धनमा खर्च हुने अरबौं रुपैयाँ बचत गर्न सक्छ, जसले आर्थिक आत्मनिर्भरता तर्फ महत्वपूर्ण कदम हुनेछ।

दैलेखका चारवटा कुवामा भेटिएको मिथेन ग्यास नेपालकै हालसम्मको सबैभन्दा ठुलो प्राकृतिक ग्यास भण्डार हो। यसबाट भान्सा, यातायात, मल उद्योग, र ऊर्जाका विभिन्न क्षेत्रमा प्रयोग गर्न सकिने सम्भावनासहित देशले आर्थिक रूपमा छलाङ मार्न सक्ने आधार तयार भएको छ। अब यसलाई कार्यान्वयनमा लैजान सरकार र सरोकारवालाले ठोस र छरितो निर्णय गर्न आवश्यक देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img