हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलोपटक रोजगारीसँग प्रत्यक्ष जोडिने उद्देश्यसहित ‘रोजगार महोत्सव’ आयोजना हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त पहलमा श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोगमा असार १४ र १५ गते महोत्सव हुन लागेको हो ।
हेटौंडा–२ स्थित पल्पसा सभागृहमा हुने महोत्सवमा तीन दर्जनभन्दा बढी स्वदेशी तथा विदेशी उद्योग प्रतिष्ठानको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष प्रमोदसिंह रानाभाटले जानकारी दिए। कार्यक्रममा हेटौंडा र वरपरका बेरोजगार तथा रोजगारी खोजिरहेका युवाहरुलाई लक्षित गरिएको उनले बताए ।
मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईंका अनुसार प्लस टु, कलेज तहका विद्यार्थी, अभिभावक र रोजगार खोजीमा रहेका युवाहरुलाई रोजगारी र उद्यमशिलतासँग जोड्ने अवसर दिन महोत्सव ल्याइएको हो। सहभागी उद्योगहरुले अन द स्पट रोजगारीको अवसर दिन सक्नेछन् भने व्यवसाय गर्न चाहने युवाहरुलाई व्यवसायिक परामर्श, बजारीकरणको तालिम र बैंक कर्जा प्रक्रियाबारे समेत जानकारी दिइनेछ।
महोत्सवमा श्रम र रोजगारसम्बन्धी विविध विषयमा विज्ञ र अनुभवी व्यक्तिहरुको प्यानल डिस्कसन समेत आयोजना गरिनेछ। कार्यक्रमको औपचारिक उद्घाटन श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले असार १४ गते शनिबार गर्ने तय भएको छ। आयोजकले महोत्सवबाट दर्जनौं युवालाई प्रत्यक्ष रोजगारीको अवसर प्राप्त हुने अपेक्षा व्यक्त गरेको छ।



