ताप्लेजुङ । यस वर्षको जेठ महिनामा मात्रै १४ हजार भन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरको दर्शन गरेका छन्। मन्दिरले त्यसैक्रममा १६ लाख ५० हजार रुपैयाँ बराबरको नगद भेटी संकलन गरेको छ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ महिनामा १६ लाख ६५ हजार ९५६ रुपैयाँ भेटी संकलन भएको हो। मन्दिरमा पूजापाठ गर्न आउने भक्तजनले चढाएको भेटीबाट सो रकम संकलन भएको हो।
“जेठ महिनामा मात्रै १४ हजार २८४ जना भक्तजनले पाथीभरा मन्दिरमा पूजा गरेका छन्,” हाङबाङले भने, “उनीहरूबाट सङ्कलित १६ लाख ५० हजार बराबरको रकम बैंकमा जम्मा गरिएको छ।”
आर्थिक वर्ष २०७९/८० को जेठसम्मको तथ्यांकअनुसार यस वर्ष २ लाख २८ हजार ८९६ जनाले पाथीभरा मन्दिरको दर्शन गरिसकेका छन्। पाथीभरा क्षेत्र विकास समितिले हरेक महिना मन्दिरको आय सार्वजनिक गर्दै आएको छ।
पाथीभरा मन्दिर ताप्लेजुङको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य हो। मन्दिरले प्रत्येक वर्ष ठूलो संख्यामा भक्तजन तथा पर्यटकहरू आकर्षित गर्दै आएको छ। जेठ महिनामा भक्तजनको घुईँचो लाग्नु स्वाभाविक मानिन्छ।