ताप्लेजुङ | निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् ।
गत बुधबार यता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् ।
गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताए ।
प्रहरीका अनुसार शनिबार पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार पापुङ, ताङ्खु टोलका आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको छ ।
बिहान वर्षासँगै माथिबाट झरेको पहिरोले बस्न नमल्निे गरी घरमा क्षति पुर्याउँदा उनीहरुको परिवारले विस्थापित हुनु परेको हो । यस्तै, सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा शनिबार गएको पहिरोले छ परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार वर्षासँगै गएको पहिरोले सिरिजङ्घा–७ मा नवराज लिम्बूको घर, भान्सा घर र पशुचौपाया गरी रु १६ लाख ९० हजार क्षति भएको छ । त्यस्तै, शुक्रराज लिम्बूको घर पूर्णरुपमा क्षति र पशुचौपाया गरी रु १० लाख ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
पहिरोले खानेपानीमा क्षति पुर्याउँदा मामाङ्खेका करिब तीन सय परिवार खानेपानीबाट वञ्चित हुनुपरेको पनि स्थानीयले जानकारी दिएका छन् ।
यसैगरी, याम्फदिनमा पनि दर्जनभन्दा बढी परिवार बाढीपहिरोको उच्च जोखिममा रहेका स्थानीय जनप्रतिनिधि सन्तोष राईले जानकारी दिए । गत बुधबारयता ताप्लेजुङमा पहिरोमा परी पाँचजनाको मृत्यु भइसकेको छ । त्यस्तै, ५५ पशु चौपाया मरेका छन् ।