दोलखा | दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा शुक्रबार क्षमा पूजा गरिएको छ। यो पूजा गत एक साताभित्र तीन पटक मन्दिरको शिलामा पसिना देखिएपछि गरिएको हो।
मन्दिर व्यवस्थापन समितिका सचिव राजेन्द्र श्रेष्ठका अनुसार, शनिबार एकै दिन दुई पटक र बुधबार एक पटक गरी जम्मा तीन पटक शिलामा पसिना देखिएको थियो। यस घटनालाई गम्भीरतापूर्वक लिँदै राष्ट्रपति कार्यालयबाट पठाइएको कालो बोका र पूजा सामग्रीसहित क्षमा पूजा गरिएको हो।
पूजामा राष्ट्रपति कार्यालयका उपसचिव, प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। पूजा शुक्रबार बिहान ८:३० बजेदेखि सुरु भएको थियो।
भीमेश्वरको शिलामा पसिना देखिनु एक विशेष घटना मानिन्छ। स्थानीय जनविश्वास अनुसार, शिलाको दायाँ पट्टी पसिना आउँदा राष्ट्रप्रमुखलाई र बायाँ पट्टी पसिना आउँदा जनतालाई असर गर्ने मानिन्छ। श्रेष्ठका अनुसार, यस घटनाले शुभ वा अशुभ दुवै प्रभाव पार्न सक्छ।
यस्ता घटना हुँदा भीमेश्वरको पसिना पुछिएको कपासलाई ‘महाप्रसाद’ का रूपमा राष्ट्रपति कार्यालयमा पठाउने र त्यहाँबाट क्षमा पूजाको सामग्री पठाउने परम्परा रहिआएको छ। यसपटक पनि सोही प्रक्रिया अपनाइएको थियो।