शिक्षाअब जुनसुकै विषयबाट १२ पास गरेकाले सीए पढ्न पाउने, नयाँ पाठ्यक्रम डिसेम्बरदेखि...

अब जुनसुकै विषयबाट १२ पास गरेकाले सीए पढ्न पाउने, नयाँ पाठ्यक्रम डिसेम्बरदेखि लागू हुने

काठमाडौं | अब नेपालमा जुनसुकै विषयबाट कक्षा १२ पास गरेका विद्यार्थीले चार्टर्ड एकाउन्टेन्सी (सीए) अध्ययन गर्न पाउने भएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले सीए अध्ययनका लागि विषय र ग्रेडमा लगाइएको पुरानो सर्त हटाउँदै नयाँ पाठ्यक्रम सार्वजनिक गरेको हो।

नयाँ व्यवस्था अनुसार अब कक्षा १२ मा कम्तीमा २.०० जीपीए ल्याएका जुनसुकै विषयका विद्यार्थीले पनि सीए अध्ययनमा प्रवेश गर्न सक्नेछन्। यसअघि भने वाणिज्य वा सो सरह विषय लिएर कम्तीमा २.४० जीपीए ल्याएका विद्यार्थी मात्र सीए अध्ययनका लागि योग्य मानिन्थे।

आईक्यानले लेखा व्यवसायको एक अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था दि इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट्स इन इंगल्याण्ड एण्ड वेल्स (ICAEW) सँगको प्राविधिक सहकार्यमा नयाँ पाठ्यक्रम तयार पारेको हो। नयाँ पाठ्यक्रम अन्तर्राष्ट्रिय लेखा महासंघ (IFAC) द्वारा जारी अन्तर्राष्ट्रिय शिक्षा मापदण्ड (IES) अनुरूप विकास गरिएको बताइएको छ।

यसरी विकास गरिएको नयाँ पाठ्यक्रम चार्टर्ड एकाउन्टेन्सी शिक्षाको पहिलो, दोस्रो र तेस्रो तहका लागि क्रमशः डिसेम्बर २०२५, डिसेम्बर २०२६ र जुन २०२८ बाट लागू गरिने भएको छ।

पाठ्यक्रममा व्यापक सुधार गरिए पनि अध्ययन शुल्क भने यथावत् राखिएको छ। आइक्यानका अध्यक्ष सीए प्रविण कुमार झाले नयाँ पाठ्यक्रमले समय सान्दर्भिक र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, विगत २६ वर्षदेखि सीए शिक्षा प्रदान गर्दै आएको संस्थाले अब विद्यार्थीको पहुँच, विविधता र समावेशितालाई ध्यानमा राख्दै पाठ्यक्रमलाई अद्यावधिक गरेको हो।

नयाँ व्यवस्था लागू भएपछि अब विज्ञान, मानविकी, शिक्षा लगायत जुनसुकै विषयबाट कक्षा १२ पास गरेका इच्छुक विद्यार्थीहरू पनि सीए बन्ने सपना सजिलै साकार पार्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img