हेटौँडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशैभरका पालिका तहमा अधिवेशन अधिवेशन हुँदैछ। पार्टीको स्थानीय सांगठनिक संरचना निर्माणका लागि गाउँ तथा नगरपालिकाहरूमा अधिवेशन आयोजना गरिएको हो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही हिमाली र बाढीप्रभावित क्षेत्रबाहेक अधिकांश जिल्लाका वडाहरूमा वडा अधिवेशन सम्पन्न भइसकेको छ। बाढीपहिरोका कारण प्रभावित बनेका नुवाकोट र धादिङका सबै वडामा मंगलबार वडा अधिवेशन सकिएको छ भने मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका रोकिएका वडा अधिवेशन पनि सम्पन्न भएका छन्।
बाढीले बढी क्षति पुर्याएको रसुवामा भने केही दिनपछि मात्रै अधिवेशन गराइने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।
पार्टीको नयाँ विधान र निर्वाचन निर्देशिकाबमोजिम आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा ५ जना पदाधिकारी चयन हुनेछन्। जसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ। कार्यसमितिको कोषाध्यक्ष भने निर्वाचित सदस्यहरूमध्येबाट सभापतिले मनोनयन गर्ने प्रावधान छ।
नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ।




