मकवानपुरइन्द्रसरोवर गाउँपालिकाकुलेखानी जलाशयको सतह १५२८.५५ मिटर पुग्यो, पहिलो सुरक्षा साइरन बजाइयो

कुलेखानी जलाशयको सतह १५२८.५५ मिटर पुग्यो, पहिलो सुरक्षा साइरन बजाइयो

हेटौँडा । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी (इन्द्रसरोवर) जलाशयमा पानीको सतह बढ्दै गएपछि पहिलो सुरक्षा साइरन बजाइएको छ। शनिबार साँझ ७ बजेको मापनअनुसार जलाशयको सतह १ हजार ५२८ दशमलव ५५ मिटर पुगेको हो।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार शनिबार दिउँसो १ः२५ बजे १ हजार ५२८ दशमलव ३३ मिटर रहेको जलसतह साँझ ७ बजेसम्म २२ सेन्टिमिटर बढेको हो। जलाशयको अधिकतम जलसतह सीमा १ हजार ५३० मिटर रहेको छ। हाल जलसतह उक्त सीमाभन्दा १ दशमलव ४५ मिटर तल छ।

जलाशयको सतह १ हजार ५२८ दशमलव ५० मिटर पुगेपछि पहिलो सुरक्षा साइरन बजाउने व्यवस्था रहेको राउतले जानकारी दिए। उनका अनुसार पानीको सतह थप बढ्दै गए जलाशयको सुरक्षा तथा जलसतह सन्तुलित राख्न बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्छ। त्यस्तो अवस्था आए थप सूचना जारी गरी चेतावनीको साइरन बजाइनेछ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सिस्नेरी खोला तथा बागमती नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले नदीकिनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा रहन तथा आयोजनाबाट जारी हुने सूचना र मोबाइलमा प्राप्त हुने एसएमएसमा उल्लेखित निर्देशन पालना गर्न अनुरोध गरेका छन्।

पहिलो सुरक्षा साइरन पूर्वसतर्कताका लागि बजाइएको हो। यसको अर्थ बाँधका ढोका खोलिएको भन्ने होइन। बाँधका ढोका खोलिएको पुष्टि भएको छैन। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई नआत्तिन र आधिकारिक सूचना तथा चेतावनीको पालना गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार