मकवानपुर । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि तोकिएको शुल्क तिर्नुपर्ने भएको छ। सडक बोर्डको निर्णयअनुसार आजदेखि सुरुङमार्ग सञ्चालनमा आएर औपचारिक रूपमा टोल ट्याक्स असुल गर्न थालिएको हो।
आयोजनाका अनुसार कार, भ्यान र पिकअपजस्ता हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। त्यस्तै, मिनी बस, मिनी ट्रक र टिपरका लागि काठमाडौँ भित्रिँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तथा बस र ठूला ट्रकका लागि भित्रिँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। सबैभन्दा बढी शुल्क ठूला ट्रक तथा लरीका लागि तोकिएको छ, जसअनुसार काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ।
यसअघि गत भदौ १७ गते नागढुङ्गा ओरालोमा सडक भासिएर यातायात अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थास्वरूप हिजो शनिबारसम्म सबै सवारीसाधनलाई निःशुल्क आवतजावतको अनुमति दिइएको थियो। सुरुङमार्ग सञ्चालनको जिम्मा पाएको युसिन–एआरटी जेभीले अहिलेलाई नगद वा क्यूआरमार्फत शुल्क तिर्ने व्यवस्था मिलाएको छ।
सडक बोर्डको असोज १२ को निर्णय र चैत २६ मा राजपत्रमा प्रकाशित सूचनाका आधारमा यो शुल्क लागू गरिएको हो। गत साउन ११ गते निर्माण सुरु भएको करिब ८० महिनापछि सुरुङमार्ग सञ्चालनमा आएको थियो। सुरुङभित्र सुरक्षालाई ध्यान में राख्दै अधिकतम प्रतिघण्टा ४० किलोमिटरको गतिसीमा तोकिएको छ।


