हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका स्वास्थ्य संस्थामा देखिएको जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी गरेको छ । प्रदेशका अस्पताल, जनस्वास्थ्य कार्यालय तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा पर्याप्त कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या देखिएपछि सरकारले आवश्यकताका आधारमा जनशक्ति व्यवस्थापन गर्न लागेको हो ।
मंगलबार हेटौँडामा आयोजित स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति व्यवस्थापनका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्पन्न भइसकेको जानकारी दिए ।
उनले सर्वेक्षणका आधारमा आवश्यक अस्थायी दरबन्दी सिर्जना गरी अस्पताल, जनस्वास्थ्य कार्यालय तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा कर्मचारी व्यवस्थापन गरिने बताए । जनशक्तिसँगै आवश्यक औजार तथा उपकरणको अभाव समाधान गर्न पनि प्रदेश सरकार लागिरहेको उनको भनाइ छ ।
मुख्यमन्त्री थापा मगरले प्रदेशको कुल बजेटको चार दशमलव पाँच प्रतिशत मात्र स्वास्थ्य मन्त्रालयमा विनियोजन भएको भन्दै उक्त रकम पर्याप्त नभएको बताए । उनका अनुसार सीमित बजेटबाट १३ वटा प्रादेशिक अस्पताल, १३ वटा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, १३ वटा जनस्वास्थ्य कार्यालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य निकाय सञ्चालन गर्नुपर्ने अवस्था छ ।
उनले प्रदेश स्थापना भएपछि सरकारी अस्पतालहरूमा विशेषज्ञ सेवा विस्तार हुनुका साथै उपचारका लागि आउने बिरामीको चापसमेत बढेको बताए । स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन टेलिमेडिसिन र विद्युतीय स्वास्थ्य अभिलेख (इएमआर) प्रणाली विस्तार गरिएको उनको भनाइ छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगसम्बन्धी सेवा सञ्चालनका लागि क्याथल्याब स्थापना गर्न बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले प्रदेशका अस्पतालहरूमा थप विशेषज्ञ सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।
प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा हेटौँडास्थित हिमालयन दरबारमा आयोजित गोष्ठीमा आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको समीक्षा भइरहेको छ ।


