काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।
निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२÷१२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको निगमका सह प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।
निगमले असार ९ गतेसम्म तेल खरिद बापत बक्यौता रकम समेत गरी ३८ अर्ब इण्डियन आयाल कर्पोरेशनलाई भुक्तानी दिनु पर्नेमा पेट्रोलियम पदार्थको बिक्रीबाट करिब १२ अर्ब मात्र भुक्तानी दिन सकेको छ ।
उक्त अवधिसम्म तिनुपर्ने रकममा पुनः केही थप भई करिब २६ अर्ब बक्यौता कायम रहन जाने देखिएको निगमले जनाएको छ । बक्यौता रकममा ब्याज लाग्ने भएको र लागत थप बढ्न जाने देखिएकोले आपूर्ति परिमाण कटौती गर्दै प्रत्येक हप्तामा मूल्य समायोजन गर्दै जानुपर्ने निगमको बाध्यता रहेको सह प्रवक्ता कार्कीले जानकारी दिए ।
बैशाख मसान्तसम्ममा निगमलाई करिब ४७ अर्ब नोक्सानी भइसकेको र असार मसान्तसम्म झण्डै ६० अर्ब नोक्सानी हुने देखिएको निगमको भनाई छ । यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।



