काठमाडौं- बारा क्षेत्र नम्बर २, चितवन-२ र तनहुँ-१ मा प्रतिनिधि सभातर्फ उपनिर्वाचनको मतदान केहीबेरअघि शुरु भएको छ।
मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ। ४ मंसिरको निर्वाचनमा तनहुँ-१ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जसपा नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले उपनिर्वाचन हुन लागेको हो। यस्तै, चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेको थियो।
चितवन–२ मा रास्वपा सभापति लामिछाने, एमाले रामप्रसाद न्यौपाने र कांग्रेसका जीतनारायण श्रेष्ठलगायत उम्मेदवार छन्। तनहुँ-१ मा कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार छन्।
बारा-२ मा एमालेका पुरुषोत्तम पौडेल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवालीलगायत उम्मेदवार छन्।