Thursday, December 12, 2024
देशबागमती प्रदेशमकवानपुरमा २२ हजारभन्दा बढी बालबालिकालाई लक्षित गरी पोलियो विरुद्धको खोप लगाईदै

मकवानपुरमा २२ हजारभन्दा बढी बालबालिकालाई लक्षित गरी पोलियो विरुद्धको खोप लगाईदै

हेटौंडा | नेपाल सरकारले पोलियो रोग नियन्त्रणको लागि देशव्यापी खोप अभियान सुरु गरेको छ। यस अभियानअन्तर्गत मकवानपुर जिल्लामा मात्रै २२ हजारभन्दा बढी बालबालिकालाई पोलियो विरुद्धको खोप दिइनेछ।

देशभर १४ लाख ६२ हजार ७१२ बालबालिकालाई लक्षित गरेर सुरु गरिएको यस खोप अभियानको तयारी जिल्लास्तरमा पुगिसकेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले जेठ १३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने खोप अभियानका लागि पहिलो चरणको तयारी पूरा गरेको जनाएको छ।

“खोप अभियानलाई सफल बनाउन स्थानीय तहसम्म आवश्यक सामग्रीहरू पुगिरहेका छन् ,” स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारले भने, “विद्यालय र वार्ड स्वास्थ्य केन्द्रहरूमा खोप केन्द्र स्थापना गरी जेठ १३ देखि २६ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ।”

बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य कार्यालयकी डा. सस्मिता बास्कोटाले पोलियो भनेको बच्चाहरूमा लाग्ने एक गम्भीर रोग भएको बताइन्। उनले भनिन्, “पोलियोले शरीरलाई पक्षघात गराउन सक्छ र कहिलेकाहीँ मृत्युसमेत हुन सक्छ।” पोलियोले शरीरको मेरुदण्डमा रहेका मुख्य तन्तुहरूलाई नोक्सान पुर्याउने हुनाले शरीरका अंगहरू कमजोर र निस्क्रिय हुन सक्छन्।

डा. बास्कोटाले भनिन्, “पोलियो सर्वप्रथम १४ हप्ताभित्रका बच्चाहरूमा देखा पर्न सक्छ। त्यसैले १४ हप्तादेखि नै बालबालिकाहरूलाई पोलियो विरुद्धको खोप दिन यो अभियान चलाइएको हो। खोप लगाएपछि बच्चाहरू जीवनभर पोलियोबाट बच्न सक्छन्।”

नेपालले पोलियोमुक्त राष्ट्रको प्रमाणपत्र प्राप्त गरेको भए पनि छिमेकी मुलुकहरूमा पोलियोका केसहरू देखिनु र खुला सिमाना हुनाले नेपालमा पनि जोखिम कायम नै रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ। त्यसैले यस अभियानमार्फत सबै बालबालिकालाई खोप दिई नेपाललाई पोलियोमुक्त बनाउने लक्ष्य रहेको छ। खोप अभियानको सफलताका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

नेपालमा पोलियाका बिरामी पछिल्लो पटक २०६७ मा असोज १४ गते देखिए यता नेपालमा पोलियाका बिरामी भेटिएका छैनन् ।  नेपालले सन् २०१४ मै पोलियो मुक्त राष्ट्रको रूपमा प्रमाणपत्र पाइसकेको छ । तर दक्षिण एसियाली मुलुकहरू पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियो केश देखिएका कारण नेपालमा जोखिम कायमै रहेकोले खोप अभियान सञ्चालन गरेको जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img