काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारको रुपमा जित निकालेको बालेन शाहको टिम यतिबेला हौसिएको छ ।
काठमाण्डौका जनताले बिश्वास गरेर बालेनलाई जिताए पछि बालेनको टिमले अब प्रतिनिधिसभाको लागी उम्मेद्धार छनौट गर्न सुरु गरिसकेको छ । प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा नहुँदै संसदीय निर्वाचनका लागि बालेनको टीम चुनावी मैदानमा छिरि सकेको छ ।
केही दिन अघि मात्र बालेनको टिमले क्षेत्र नं १ को सांसदमा पुकार बमलाई अघि सारिसकेको छ । अब एउटा नयाँ अपडेटका साथ खुशीको खबर बाहिर आएको छ । अब बालेन साहको टिममा रञ्जु दर्शना पनि परेकी छन् ।
उक्त टिमले दर्शनालाई काठमाडौं ५ को सांसदमा उठाउने तयारी गरेको छ । रञ्जु दर्शना २०७४ सालको निर्वाचनमा विवेकशील नेपाली दलका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार थिइन् ।
विवेकशील साझा पार्टीकी नेतृ रहेर काम गरिरहेकी उनले पार्टीमा विवाद शुरु भएसँगै विवेकशील साझा छाडेर स्वतन्त्र रुपमा बस्दै आएकी छिन् । बालेनको टीमले नै रञ्जुलाई काठमाडौं क्षेत्र नं ५ को सांसदका रुपमा प्रस्ताव गरेपछि उनी उम्मेदवारीका लागि सकारात्मक बनेकी छिन् ।
काठमाडौं क्षेत्र नं ५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत पनि यही क्षेत्रबाट सांसदमा उठेका थिए ।