हेटौँडा | नेपाल माझी उत्थान सङ्घ केन्द्रीय समितिले फागुन २० गते मनाइने लदि (कोसी) पूजाको अवसरमा बकैया गाउँपालिकाको वडा नम्बर ६ जुईनामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। आइतबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सो कार्यक्रममा सम्बोधन गर्ने जानकारी गराइयो। माझी समुदायको प्रमुख चाड लदि (कोसी) पूजा नेपालभरका माझी समुदायले नजिकका नदी खोला पूजा गरेर मनाउने गर्छन्।
माझी जाति नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये एक हो। परम्परागत रूपमा माछा मार्ने, डुङ्गा चलाउने पेशामा संलग्न यो समुदाय हाल खेती, ज्याला मजदुरी, साना जागिर तथा वैदेशिक रोजगारमा आश्रित छ। यस जातिको भाषा, धर्म, संस्कार, भेषभूषा र सामाजिक परम्परा विशिष्ट रहेको छ। सरकारी तथ्याङ्कअनुसार माझी जातिको जनसंख्या १ लाख ११ हजार ३५२ रहेको छ भने माझी भाषा बोल्नेको संख्या ३२ हजार ९१७ रहेको छ।
२०६५ सालमा नेपाल माझी उत्थान सङ्घको निर्णयअनुसार लदि (कोसी) पूजालाई राष्ट्रिय चाड घोषणा गरिएको थियो। अघिल्लो वर्षझैँ यस वर्ष पनि बागमती प्रदेश सरकारले माझी समुदायलाई सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ।