हेटौँडा | दशौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता फागुन २२ गतेदेखि २६ गतेसम्म हुप्राचौर खेलमैदानमा आयोजना हुने भएको छ।
आइतबार हेटौँडा भेट्रान्स क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रमेश कुमार उप्रेतीले प्रतियोगिता ४५ वर्षमाथिका खेलाडीहरूका लागि हुने जानकारी गराएका छन्। उनले देशभरका १६ भेट्रान्स क्लबको सहभागिता रहने यस प्रतियोगिताले पूर्व खेलाडीहरूबीचको सम्बन्ध मजबुत बनाउने उद्देश्य रहेको बताए ।
“स्वास्थ्यका लागि खेलकुद” नाराका साथ आयोजना हुने प्रतियोगिताले फुटबल खेलको प्रवर्द्धनसँगै मकवानपुरको पर्यटनलाई टेवा दिने अपेक्षा गरिएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । हेटौँडा उपमहानगरपालिका मुख्य सहयोगी रहनेछ भने स्थानीय पालिका, संघसंस्था, समाजसेवी र खेलप्रेमीहरूको पनि साथ रहेको अध्यक्ष कुमार उप्रेतीले बताए ।
प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार ५५५ रुपैयाँ तथा उपविजेताले ७५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट कोच, फरवार्ड, गोलकिपर, डिफेन्स, मिडफिल्डलाई जनही ५ हजार र म्यान अफ द सिरिजलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। अघिल्लो नवौँ संस्करणको उपाधि बानेश्वर फ्रेण्डसीप भेट्रान्स क्लबले जितेको थियो।