हेटौँडा | मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–५ बसन्तपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। चैत ३१ गते दिउँसो भएको उक्त घटनामा मृतक र घाइतेहरू एउटै परिवारका सदस्य रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार डिल्लीपुरस्थित आफन्तको घरबाट आफ्नो घर दरदरा फर्कंदै गरेका मनहरी–५, दरदरा निवासी २८ वर्षीय अबिरल थिङको घटनास्थलमै मृत्यु भएको हो। उनीसहित उनका बुबा ५६ वर्षीय सिंहबहादुर थिङ र सानी आमाको छोरा १० वर्षीय सौगात गोले चट्याङको चपेटामा परेका थिए।
घटनापछि स्थानीय बासिन्दाहरूले घाइतेहरूलाई तत्कालै उद्धार गरी थप उपचारका लागि चितवनतर्फ पठाएका थिए। सिंहबहादुर थिङको अवस्था मध्यम रहेको जनाइएको छ भने बालक सौगात गोले सामान्य चोटपटकसहित सुरक्षित रहेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ।