हेटौंडा | आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट वञ्चित भएका विपन्न समुदायका व्यक्तिहरूलाई हेटौंडा उपमहानगरपालिकाले सहारा प्रदान गरेको छ।
हेटौंडा–१८, थामीटोलका ४५ वर्षीय पशुपति थामीको स्वास्थ्य उपचारमा उपमहानगरले विशेष पहल गरेको हो। आर्थिक कठिनाइ र पोषण अभावका कारण स्वास्थ्य अवस्था बिग्रिएका थामीको प्राथमिक उपचार हेटौंडा अस्पतालमा भए पनि सुधार नआएपछि अस्पतालले उनलाई घर फर्किन आग्रह गरेको थियो।
अस्पतालबाट फर्किएपछि थामीको अवस्था झन् जटिल बनेपछि हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र वडा अध्यक्ष अनिल बानियाँले उनको घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए। थामीसँग संवाद गर्न समस्या भए पनि उनको हातका इसाराबाट अवस्था बुझी थप उपचारको व्यवस्था गरिएको हो।
नगर प्रमुख लामाको समन्वयमा थामीलाई चुरेहिल अस्पताल लगिएको छ। उपचारका क्रममा पोषणको कमी प्रमुख समस्या रहेको चिकित्सकहरूले बताएका छन्। यसलाई मध्यनजर गर्दै उपमहानगरले उनलाई चामल, दाल, तेल, सोयाबीन, अण्डालगायतका पोषणयुक्त खाद्य सामग्री सहयोग गरेको छ।
थामीको उपचारमा कुनै बाधा नआओस् भनेर नगर प्रमुख लामा र वडा अध्यक्ष बानियाँले चुरेहिल अस्पतालको व्यवस्थापनसँग समन्वय गरेका छन्। साथै, थामीको परिवारलाई दैनिक जीविकोपार्जनका लागि खाद्यान्न सहयोग मात्र होइन, स्वास्थ्य बीमा पनि गरिदिने उपमहानगरले प्रतिबद्धता व्यक्त गरेको छ।
थामीटोलका अन्य १७ परिवार पनि आर्थिक अभावका कारण मजदुरीमा निर्भर छन्। यसरी, थामी समुदायका लागि हेटौंडा उपमहानगरपालिकाको यो कदम दिगो सहयोगको नमुना बनेको छ। नगर प्रमुख लामाले दैनिक जीवनयापन, स्वास्थ्य, र शिक्षामा समस्या भोगिरहेका समुदायको सहयोगका लागि उपमहानगर सदैव तत्पर रहेको बताइन्।