समाजमंसिर १५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्दै हेटौंडा–१९

मंसिर १५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्दै हेटौंडा–१९

हेटौँडा |  हेटौंडा उपमहानगरपालिका वडा नं. १९ लाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी पूरा भएको छ। यसै सन्दर्भमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा वडाका सामाजिक, शैक्षिक, र बालअधिकारको क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे जानकारी गराइएको छ।

वडा नं. १९ बासामाडी गाविसका वडा नं. १, २, ४, ६ र ७ मिलेर बनेको, ४७.०४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको हेटौँडा उपमहानगरपालीकाको सबैभन्दा ठूलो वडा हो। यस वडामा हाल ३ हजार ३ सय ५० जना बालबालिका (१८ वर्ष मुनिका) छन्, जसमा ५१.५५ प्रतिशत बालक र ४८.४४ प्रतिशत बालिका वडाले जनाएको छ । यहाँ १० वटा विद्यालय, १८ बालसमूह, १ बालसञ्जाल, र विभिन्न संरचनागत समितिहरूमा ४९१ बालबालिकाहरू सक्रिय रूपमा सहभागी छन्।

वडाले “बालमैत्री स्थानीय शासन” घोषणा गर्न नेपाल सरकारले तोकेका ५१ सूचकहरूमध्ये ४४ सूचकमा सतप्रतिशत प्रगति गरेको छ भने अन्य सूचकमा ८० प्रतिशतदेखि ९५ प्रतिशत प्रगति गरेको छ। यसले वडालाई बालमैत्री बनाउन अब घोषणा कार्यक्रमको मात्र औपचारिकता बाँकी छ।

वडाले पूर्ण खोप, पूर्वसाक्षर, र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकेको छ। बालबालिकाको शिक्षामा सुधार, बालअधिकार संरक्षण, बालश्रम उन्मूलन, र उनीहरूको सामाजिक सहभागितालाई प्रोत्साहित गर्न विभिन्न क्लब, समूह, र स्थानीय संस्थाहरू क्रियाशील छन्। वडाध्यक्ष नरनाथ सुवेदीले भने, “आजका बालबालिकालाई भविष्यका कर्णधार मात्र हैन, आजका साझेदारका रूपमा स्थापित गर्न हामी दृढ छौं।”

बालबालिकाले बाँच्न, शिक्षा आर्जन गर्न, र सामाजिक कार्यमा सहभागी हुन पाउने अधिकारसँगै उनीहरूलाई कर्तव्यबोध गराउनु पनि अभिभावक र शिक्षकको जिम्मेवारी रहेको वडाध्यक्ष सुवेदीले बताए। बालमैत्री वातावरण निर्माणमा परिवार र वडाको ठूलो भूमिका रहेको र यसका लागि सबैको ऐक्यबद्धता आवश्यक रहेको उनले जोड दिए।

वडा नं. १९ ले निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रम यही मंसिर १४ गते पन्द्रसोला खेलमैदानमा आयोजना गर्दैछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img