हेटौँडा । शिवरात्रीका अवसरमा आज हेटौँडामा बहुचर्चित गायक राजु लामा र उनको ब्यान्ड ‘मङ्गोलियन हर्ट’को विशेष प्रस्तुति हुने भएको छ। हेटौँडामा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ अन्तर्गत बुधबारको विशेष सांगीतिक प्रस्तुतिका लागि मङ्गोलियन हर्ट हेटौँडा आउन लागेको महोत्सव व्यवस्थापक अनित विष्टले जानकारी दिए।
ब्यान्डको प्रस्तुतिलाई लक्षित गर्दै बुधबार साँझको टिकट दरमा वृद्धि गरिएको छ। नियमित प्रवेश शुल्क ७५ रुपैयाँ भए पनि राजु लामा र उनको ब्यान्डको शोका लागि टिकट दर ३ सय रुपैयाँ निर्धारण गरिएको छ। सोही दिन हेटौँडा आइडलको प्रतियोगितात्मक प्रस्तुति मात्र रहनेछ भने अन्य कलाकारहरूको कार्यक्रम नरहने विष्टले बताए।
महोत्सव आयोजकका अनुसार नियमित टिकट खरिद गर्ने दर्शकहरूलाई अपराह्न ४ बजेपछि स्टल क्षेत्रमा मात्र सीमित गरिनेछ। ब्यान्डको प्रस्तुति अवलोकन गर्न चाहने दर्शकहरूले २ नम्बर गेटबाट मात्र प्रवेश पाउनेछन्।
‘दर्शकहरूको सुविधाका लागि टिकेट सञ्जालमार्फत अनलाइन टिकटको व्यवस्था गरिएको छ। साथै, गेटमै पनि टिकट उपलब्ध हुनेछ,’ विष्टले भने।
हेटौँडा–१०, टिसिएन चौरमा जारी महोत्सव फागुन १८ गतेसम्म सञ्चालन हुनेछ। निर्माण व्यवसायी सङ्घ मकवानपुर र औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा जारी मेलामा निर्माण तथा व्यापारसम्बन्धी विभिन्न स्टलहरू रहेका छन्। साथै, महोत्सव अवधिभर दैनिक सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत हुँदै आएका छन्।