हेटौँडा | मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार बसेको १५ औं गाउँसभामा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले “शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार समृद्ध मनहरीको आधार” भन्ने मूल नारा सहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ।

कृषि क्षेत्रमा गाउँपालिकाले कृषि उत्पादनको बजार सुनिश्चितता र बालीको समर्थन मूल्य तोक्ने नीति लिएको छ। उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम र बाँझो जग्गा उपयोगमा ल्याउने प्रोत्साहनका साथै माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने र निशुल्क माटो परीक्षणको व्यवस्था गरिने छ। गाउँपालिकाले ५० प्रतिशत अनुदानमा चुन र सुक्ष्म तत्व वितरण गर्नेछ। पकेट क्षेत्र, सामूहिक र करार खेतीलाई समेत प्रोत्साहन गरिनेछ।
कृषि र पशुबीमाका लागि कर्मचारी व्यवस्था गरिनेछ भने विपन्न कृषकका लागि निशुल्क बीमा कार्यक्रम लागू गरिनेछ। गाउँपालिकाले एक वडा एक कृषि उत्पादन कार्यक्रम र प्राङ्गारिक खेती प्रवर्द्धनको क्षेत्र स्थापना गर्नेछ।
सामाजिक क्षेत्रमा गरिब तथा विपन्न परिवारलाई अन्त्येष्टि (दाहसंस्कार) का लागि आर्थिक सहयोग गरिनेछ। पालिका क्षेत्रभित्रको सार्वजनिक यातायातमा विपन्न नागरिकलाई सहुलियत दिइने नीति रहेको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषिलाई विशेष प्राथमिकता दिने र सामाजिक तथा भौतिक पूर्वाधार विकासमा जोड दिने नीति लिएको छ।