इटहरी / सङ्खुवासभाको सभापोखरीस्थित बिहेबाट बेहुली लिएर मोरङको सुन्दरहरैँचाको विराटचोकतर्फ आउँदै गरेको सुमो गाडी कोसी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा आज आइतबार आज बिहानका राति दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।
चालक निदाएका कारण बिहान १ः४० बजेतिर भएको दुर्घटनामा परेर बेहुला र बेहुलीसहित पाँच जना घाइते भएका छन् । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । तीन जनाको अवस्था सामान्य छ ।
प्रहरीका अनुसार मोरङको विराट चोकतर्फ आउँदै गरेको मे १ ज १९८६ नम्बरको सुमो आफैँ अनियन्त्रित भई सडकबाट १० मिटरजति तल खसेर रुखमा ठोक्किएको थियो ।
दुर्घटनामा चालक सुन्दरहरैँचा नगरपालिका–९ का ३३ वर्षीय कुमार कार्की, बेहुला सुन्दरहरैँचा–१० का २४ वर्षीय सविन आलेमगर, बेहुलाका बुवा ६४ वर्षीय यामबहादुर आलेमगर, बेहुली सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ की २४ वर्षीया सङ्गीता मगर र गाडीमा सवार इटहरी–३ का ४५ वर्षीय भक्तबहादुर मगर घाइते भएका छन् ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा परेर घाइते भएकामध्ये बेहुली र बेहुलाका बुवाको अवस्था गम्भीर छ । बेहुला, चालक र गाडीमा सवार एक जनाको अवस्था सामान्य छ । चालक निदाउँदा भएको दुर्घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।