इटहरी | सुनसरीको इटहरी २० तरहरामा शनिबार हुन लागेको कोरा साइक्लिङको तयारी पूरा भएको छ। तरहरा आसपास क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत गरिब तथा जेहेन्दार बालबालिकाहरूलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
बुधबार पत्रकार सम्मेलन गरी आयोजक तरहरा साइक्लिङले तयारी पूरा भएको जनाएको छ। कार्यक्रम संयोजक बहादुर तामाङका अनुसार साइक्लिङमा कोशी प्रदेशका पाँच सय बढी साइक्लिस्टहरूको सहभागिता हुनेछ। “शिक्षामा लगानी, बालबालिकालाई भोलिको सुनौलो बिहानी” भन्ने सन्देशका साथ कोरा आयोजना गर्न लागिएको उनले बताए।
कोरा च्यालेन्ज नेपालका विभिन्न स्थानमा वार्षिक रूपमा आयोजना हुने र यसले स्थानीय धार्मिक स्थलहरूको प्रचार गर्ने बताइएको छ। साइक्लिङका अध्यक्ष खड्ग भण्डारी (रमेश)ले धार्मिक स्थलको वरिपरि घडीको दिशामा घुम्दै परिक्रमा गराइने र साइकल राइडमा वस्ती, गाउँदेखि सहरलाई साइकलसँग जोड्ने लक्ष्य रहेको बताए।
कोरा च्यालेन्जमा ६ देखि ६५ वर्ष उमेर समूहका सहभागी रहने जनाइएको छ। सिनियरको लागि २५ किलोमिटर र जुनियरका लागि १० किलोमिटरको यात्रा तय गरिएको छ।
तरहरा चौकबाट शनिबार बिहान ७ बजे सुरु हुने कोरा विभिन्न स्थानीय चोक, मन्दिर, गुम्बा, विद्यालय र सार्वजनिक स्थलहरू हुँदै बहुभाषी स्कुलमा पुगेर समापन हुनेछ। जुनियर वर्गका लागि छोटो दूरीको मार्ग निर्धारण गरिएको छ।
सहभागी र सहयोगीबाट उठेको शुल्कको खर्च कटाएर बाँकी रहेको रकम विद्यार्थीहरूमाथि लगानी गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।