समाजबाढीपहिरोले कतै घर बगायो, कतै पशुचौपाया

बाढीपहिरोले कतै घर बगायो, कतै पशुचौपाया

ताप्लेजुङ : लगातारको वर्षापछि आएको बाढीपहिरोले ताप्लेजुङका अधिकांश क्षेत्रहरुमा जोखिम बढाएको छ।

शुक्रबार राति फक्ताङ्लुङ गाउँपालिका वडा नं २ खेजेनिम चावाखु टोलका जीवन बाराकोटीको घर पहिरोले बगाएको छ। घर माथिबाट झरेको पहिरोले बाराकोटीको घर बगाएको छ भने उक्त बस्ती नै पहिरोको उच्च जोखिममा परेको त्यहाँका वडाध्यक्ष भूपेन्द्र चौंलागाईले जानकारी दिए।

पहिरो बग्न सक्ने जोखिम देखेपछि ६ जना सदस्य रहेको बाराकोटीका सबै सदस्य सुरक्षित स्थानमा सरेका कारण मानवीय क्षति भने हुन पाएन। चौलागाईंका अनुसार बाढीपहिरोले पालिका उपाध्यक्ष समेत रहेका जीवन साम्रा लिम्बूको गोठमा २१ वटा बाख्रा बगाएको छ।

पहिरोले फक्ताङलुङ गाउँपालिका वडा नं १ सावादिन तेम्रुङका टेकबहादुर श्रेष्ठको एउटा भैसी, एउटा गोरु र ११ वटा बाख्रा बगाएको छ। पहिरोका कारण चावाखु बस्ती नै पूरै जोखिममा परेको छ। पहिरोले सो बस्ती नै चिराचिरा बनाएपछि त्यहाँ बसोबास गर्दै आएका ३० घरपरिवार जोखिममा परेका छन्।

बस्ती नै जोखिममा परेपछि त्यहाँ बसोबास गर्दै आएका परिवारलाई सुरक्षित ठाउँमा सार्ने तयारी भइरहेको वडाध्यक्ष चौंलागाईंले बताए। यस्तै माथिपट्टी पहरो रहेको क्षेत्र नजिक रहेको सिँवा बजारका स्थानीय समेत रातको समयमा सुरक्षित स्थानमा सरेर सुत्ने गरेको सिँवा माविका प्रधानाध्यापक ओमनाथ गौतमले जानकारी दिए।

खोलामा पानीको सतह र कच्ची सडक जताततै बिग्रिएको र पहिरोले क्षति पुर्‍याएका कारण ताप्लेजुङका अधिकाँस ग्रामीण बस्तीतर्फ जाने सवारी आवागमन रोकिएको छ। उता पहिरोले २ जनाको मृत्यु र १ जना सख्त घाइते भएको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङको तेम्फु क्षेत्रमा जोखिम कायम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img