काठमाडौं: अबदेखि काठमाडौं उपत्यकामा अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने भएको छ।
निर्वाचन आयोगका प्रवक्ता तथा सह-सचिव शालिग्राम शर्मा पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै उपत्यकाका नागरिकहरूले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने जानकारी दिएका हुन्।
पौडेलका अनुसार आयोगले मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरको लागि पाइलट अपरेसनको रूपमा सुरू गर्ने निर्णय गरेको हो।
‘फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाटै फारम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी आयोगले ‘वेब बेस्ड भोटर लिस्ट प्रि रेजिष्ट्रेसन सिस्टम’ तयार गरेको हो,’ विज्ञप्तिमा भनिएको छ,‘पाइलट अपरेसनको रूपमा काठमाडौं, भक्तपुर र ललितपुरबाट बुधबारदेखि सुरू गर्नेगरी आयोगले मंगलबार निर्णय गरेको छ।’
फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नागरिकले आयोगको www.election.gov.np मा गएर व्यक्तिगत विवरण भर्न सकिन्छ।
त्यसपछि अनलाइन फारममा उल्लेख भएको संकेत नम्बरसहित प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ।
‘मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले यस अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्नु गराउनुहुन आयोग अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।