लहान । सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा–८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडकोे ढुंगामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन् ।
आइतबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटक–पटक झडप भएको थियो । भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रुग्यास र गोली समेत चलाउनुपरेको थियो । झडपका क्रममा आन्दोलनकारीले पेट्रोल बमसहित ढुंगामुढा प्रहार गरेको मिर्चैया प्रहरी कार्यालयले जनाएको छ ।
आन्दोलकारीको प्रहारबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामकुमार चौधरी गम्भीर घाइते भएको डीएसपी वलीले जानकारी दिए ।
चौधरीको उपचारका लागि काठमाडौं रेफर गरिएको र अरूको स्थानीय मंगलम अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार गर्ने दुई व्यक्ति प्रहरी नियन्त्रणमा रहेको र आन्दोलनकारीतर्फ कुनै क्षति नभएको प्रहरी प्रवक्ता एवं सिरहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताए ।
विद्यालयको लापरबाहीका कारण छात्रा सिर्जनाकुमारी महराको उपचारका क्रममा शनिबार राति मृत्यु भएको थियो ।