हेटौँडा – हेटौँडाको हर्नामाडीमा जङ्गलमा घाँस काट्न गएकी महिला बाघले आक्रमणबाट घाइते भएकी छिन् । हेटौँडा उपमहानगरपालिका १८ हर्नामाडीकाे मानेडाँडा बस्ने ५६ वर्षकी मैती बयलकोटीलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो ।
आज दिउँसाे ४ बजेतिर घाँस काट्न जाँदै गर्दा सुकौरा जाने बाटोमा बाघले बयलकोटीलाई आक्रमण गरेको थियो । उनकाे गाला, ओठ र ढाडमा चोट लागेको र थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको ठुलोदमार प्रहरी चौकीका इन्चार्ज अर्जुनप्रसाद देवकोटाले जानकारी दिनुभयाे । उनको अवस्था सामान्य छ ।
केहीदिन देखि हर्नामाडी क्षेत्रमा बाघले स्थानीयको बाख्रा र बंगुर खाइदिएको थियो । प्रहरीले घटनाबारे वन कार्यालयलाई जानकारी गराइदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।