बैतडी । विक्रम संवत् २००६ मा स्थापित बैतडीको वासुदेव आधारभूत विद्यालय जीर्ण अवस्थामा पुग्दा पनि पुनर्निर्माणको पहल कतैबाट हुन सकेको छैन । सुर्नया गाउँपालिका–३, तडिगाउँको वासुदेव आधारभूत विद्यालयमै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले प्राथमिक शिक्षा लिएका थिए ।
विद्यालय भवनको छानाले घामपानी छेक्ने अवस्था छैन । जीर्ण भवन कति बेला भत्किने हो भन्ने डरैडरमा विद्यार्थी अध्ययन गर्न बाध्य छन् । २००६ सालमै भारतबाट सात जना शिक्षक ल्याई विद्यालय सञ्चालन गरिएको थियो । कक्षा ८ सम्म पढाइ हुने सो विद्यालयमा ९७ जना विद्यार्थी छन् ।
अहिले दरबन्दीमा तीन शिक्षक रहेका छन् । प्रधानाध्यापक सुन्दरदेव भट्टका अनुसार गाउँपालिकाले नियुक्त गरेको शिक्षक भए पनि माथिल्लो तहमा नेपाली विषय पढाउने शिक्षक छैनन् ।
२०७२ सालमा निर्मित तीनकोठे भवनलाई बीचमा बार लगाएर छ कोठा बनाई कक्षा सञ्चालन गरिएको छ । पछिल्लो समय भूकम्पको धक्का आउन थालेपछि विद्यार्थीलाई कक्षाकोठाबाहिर राखेर अध्यापन गरिएको बताइन्छ ।
वासुदेव आधारभूतमा वि.सं. २०१९ मा कक्षा ९ सम्मको पढाइसमेत हुन्थ्यो । २०२० सालमा यही विद्यालयको नामबाट अर्को गाउँमा वासुदेव मावि सञ्चालन भएपछि यहाँ कक्षा घटेर ५ सम्मको पढाइ हुन थाल्यो । अहिले कक्षा ८ सम्मको पढाइ भइरहेको छ ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका पिता महावीर चन्द यो विद्यालयका संस्थापक छन् । भारतबाट शिक्षक बोलाएर सञ्चालन भएको वासुदेव आधारभूत विद्यालयमा केही समय लोकेन्द्रबहादुर चन्दले शिक्षक बनेर पनि अध्यापन गरेको पूर्वविद्यार्थी तर्कराज भट्टले बताए । यो विद्यालयमा पूर्वप्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले समेत प्रारम्भिक शिक्षा हासिल गरेका थिए ।