काठमाडौं: अभिनेता पल शाहले बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई गैंती-बेल्चाजस्ता औजार कोसेली दिएका छन् ।
इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवमा मनोरञ्जन प्रदान गरे उनी बुधबार पूर्वी सहर धरान पुगेका थिए । बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर उनले गैंती-बेल्चाजस्ता औजार कोसेली दिएका हुन् ।
पलले उक्त खाना महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट आफूले औजार खरिद गरेको र मेयर साम्पाङको सामाजिक कार्यमा योगदान दिएको बताएका छन् । औजार कोसेली दिने क्रममा अहिले हलमा चलिरहेको फिल्म ‘जारी’की कलाकार रेखा फागो लिम्बू पनि उपस्थित थिइन् ।
‘हर्क सरको सामाजिक कार्यको हिस्सा हुन पाउँदा खुसी लागेको छ । महोत्सवबाट पाएको पारिश्रमिकको केही हिस्सा सहयोग गरेको हुँ,’ उनले भने । औजार ग्रहण गर्दै मेयर साम्पाङले पनि सबैै नेपालीभाषीलाई यो उपहारले सन्देश दिएको बताए । ‘मान्छेले खानेकुरा कसरी उत्पादन हुन्छ भन्ने कुरा बिर्सिए, पलजीले त्यो सम्झाइदिनुभएको छ,’ साम्पाङले भने ।