धर्म/संस्कृतिहेटौंडामा पञ्चवर्षीय महायज्ञ सुरू

हेटौंडामा पञ्चवर्षीय महायज्ञ सुरू

मकवानपुर: बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबारबाट पञ्चवर्षीय विराट् महायज्ञ सुरू भएको छ। ‘महायज्ञको प्रभाव ः सामाजिक सद्भाव’ भन्ने मूल नाराका साथ राप्तीतटमा महायज्ञ सुरू हुनअघि बृहत् शान्ति शोभा कलशयात्राले हेटौंडा नगर परिक्रमा गरिएको थियो।

कलश यात्रामा एउटै सारी र धोतीले सजिएका हजारौँ महिला उपस्थित भएका थिए। २५ हजार महिलालाई एकैनासका सारी र धोती वितरण गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक अजेयराज सुमार्गीले जानकारी दिए।

महायज्ञ शुभारम्भ समारोहमा बोल्दै प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले विराट् महायज्ञ मौलिकता संरक्षणतर्फको सर्वोत्तम कार्य भएको टिप्पणी गरे। हाम्रो देशको मौलिकता संरक्षण गर्नका लागि आवश्यक परे संविधान संशोधन गर्न पनि ठूला दल तयार हुनुपर्ने उनको भनाइ छ। ‘संविधानलाई संशोधन गरेन भने कुरूप हुन्छ। मौलिकता संरक्षणका लागि आवश्यक पर्‍यो भने संविधान संशोधन पनि गर्नुपर्छ।’ उनले भने, ‘त्यसका लागि प्रचण्ड, देउवा, ओलीसहितका सबै नेताहरूलाई मेरो अनुरोध छ- मौलिकता संरक्षणका लागि एकमुख हुनुहोस्।’

कार्यक्रमका विशिष्ठ अतिथि राप्रपा प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले आफूहरू नेपाललाई वैदिक धर्मसहितको धार्मिक राष्ट्र बनाउन कम्मर कसेर लागेको उल्लेख गर्दै सबैलाई साथ दिन अपिल गरे। मकवानपुर १ बाट निर्वाचित राप्रपाका संघीय सांसद दीपकबहादुर सिंहले धर्म, परम्परा, संस्कार र रीतिरिवाजलाई बेवास्ता गरेर कुनै पनि मुलुक अघि बढ्न नसक्ने बताए।

उनले धर्मसंस्कृतिको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गरे। राष्ट्रियसभाका पूर्वसदस्य रामनारायण बिडारीले राजनीतिभन्दा धर्मको क्षेत्र फराकिलो हुने तर्क गरे। ‘राजनीतिको क्षेत्र नाङ्लोजत्रो छ, धर्मको क्षेत्र आकाशजत्रो।’ बिडारीले भने ‘यसकारण यस्ता महायज्ञजस्ता धार्मिक कार्यक्रम महत्वपूणर् छन्।’वैदिक दर्शनका व्याख्याता अग्निहोत्री डा.सीताराम खनालले नेपालका राजनीतिज्ञहरूको भनाइ र गराइमा पटक्कै तादम्यता नहुने टिप्पणी गरे।‘छोराछोरी विदेशमा पढाउने नेताले जनतालाई आफ्ना छोराछोरी नेपालमै पढाऊ भन्न मिल्दैन।’ खनालले भने, ‘संसदमा भएकाहरूले गरेर देखाउने हो, जनताका अगाडि गफ दिएर हिरो बन्ने होइन।’महायज्ञ मूल आयोजक समितिका संयोजक अजेयराज सुमार्गीले धार्मिक र अध्यात्मिक जागरणका लागि पञ्चवर्षीय महायज्ञ आयोजना गरिएको बताए।

‘नयाँ पुस्तालाई हाम्रो धर्मसंस्कृतिबारे झक्झक्याइराख्न विराट महायज्ञ आयोजना गरेका हौं’, सुमार्गीले भने, ‘मलाई विश्वास छ यसपटक हजारौं भक्तजन महायज्ञमा उपस्थित हुनुहुनेछ।’ विशेष कथावाचक भएका कारण पनि कार्यक्रम महत्वपूणर् हुने उनको भनाई छ। सात दिनसम्म चल्ने महायज्ञमा वेदाचार्य कृष्णप्रपन्न स्वामी, मुख्यवाचक रहेका छन् भने डा. सीताराम अग्निहोत्रीको पनि नियमित प्रवचन रहने आयोजक समितिले जनाएको छ। समितिका अनुसार महायज्ञमा पितृको सम्झनामा करोडौँ दीप प्रज्वलन गर्नुका साथै महाआरती एवं महिलाबीच मात्रै गीता वाचन प्रतियोगिता पनि गरिनेछ।

बैशाख २४ गते दिउसो ३ बजे बिश्व शान्तिको कामना गर्दै हेटौडा बजारको मुख्य चोकहरुमा दीप प्रज्ज्वलन, बैशाख २४ गते बिहान ८ बजे बटूकहरुको बैदिक ब्रतबन्ध हुने र बैशाख २५ गते ५ बजे राप्तीतटमा सवापाच करोड दिपप्रज्ज्वलन गरिने समितिका महासचिव हयग्रीव आचार्यले बताए ।

महायज्ञले निर्माणधीन बहुआयामिक धर्मसालाको परिपूर्णता, करियापुत्री भवन निर्माण, बेदधाकयाको स्थायीकरण, होमकुण्ड निर्माण, मुक्तिनाथ मन्दिर निर्माण, वैकुण्ठद्वार निर्माण र दुर्लभ वनस्पतियुक्त श्रीवानको निर्माणमा सहयोग पुग्ने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img