मोरङ | पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरीमा यात्रुवाहक बसले बिहीबार बिहान मोटरसाइकललाई ठक्कर दिँदा एकजना महिलाको मृत्युु भएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई बिहान ८ बजेतिर कानेपोखरी गाउँपालिका ७ मा ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका ८ की ४४ वर्षीया मञ्जु कटुवालको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । दुर्घटनामा परेर गम्भीर घाइते भएकी मञ्जुको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहान ९.३० बजेतिर मृत्यु भएको उनले बताए । दुर्घटनामा परेर मोटरसाइकल चालक २१ वर्षीय अमित कटुवाल घाइते भएका छन् ।
प्रहरीका अनुसार मृतक मञ्जु र घाइते अमित आमा-छोरा हुन् । दुर्घटना लगत्तै बस र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका २ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।



