इटहरी उपमहानगरपालिका वडा नं. १७ मा स्थित जन एकता आमा समूहको आयोजनामा एक महिने नौमति पञ्चेबाजा तालिम सम्पन्न भएको छ। नेपाली समाजमा लोप हुँदै गएको बाजा संस्कृतिको संरक्षणका लागि आयोजित यस तालिममा २० जना महिला सहभागी बनेका थिए।
तालिम समापन समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित इटहरी उपमहानगरपालिकाकी उप प्रमुख संगीता कुमारी चौधरीले सिकेको सिपलाई व्यवहारमा ल्याउन आवश्यक बाजा बजाउने सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।
जन एकता आमा समूहकी अध्यक्ष विष्णु कुमारी खड्काले लोप हुँदै गएको बाजा संस्कृतिको उत्थानका लागि यस्तो तालिम आवश्यक रहेको बताउँदै कार्यक्रम आयोजना गरिएको बताइन्। कार्यक्रममा १५ जना सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
तालिमकी सहभागी विष्मा बस्नेतले यस्ता तालिमले बाजा संस्कृतिको संरक्षणसँगै रोजगारीका अवसर पनि सिर्जना गर्ने बताइन्। प्रशिक्षक विद्या घिमिरेले उनीहरूलाई बाजा बजाउने सिप प्रदान गरेका थिए।
कार्यक्रममा स्थानीय टोल विकास संस्था लाटीमाईका अध्यक्ष रोसन बन्जरा, उपाध्यक्ष सावित्रा खड्का लगायतको उपस्थिति रहेको थियो। जन एकता आमा समूहले २०७५ सालदेखि स्थापना भएर सामाजिक कार्यदेखि आर्थिक सहयोगसम्म गर्दै आएको छ।