Friday, January 17, 2025
समाजभोजपुर नागीका किसानहरूका लागि मौरीपालन लाभदायक व्यवसाय बन्दै

भोजपुर नागीका किसानहरूका लागि मौरीपालन लाभदायक व्यवसाय बन्दै

भोजपुर । भोजपुरको नागी गाउँपालिकाका किसानहरूले व्यावसायिक रूपमा गरिरहेको मौरीपालनबाट राम्रो आम्दानी गरिरहेका छन् । नागी क्षेत्रका किसानले उत्पादन गरेको महबाट एक वर्षमा एक करोड २० लाख भन्दा बढी आम्दानी भएको छ ।

टेम्केमैयुङ्ग वडा नम्बर ४ मा पर्ने नागी क्षेत्रका अधिकांश किसानले व्यावसायिक मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकाले हुँगे, चोक्ला, वाकताङ लुङ्गिन लगायतका स्थानहरूमा मौरीपालन हुने गरेका छन । स्थानीय मौरीपालक किसान सारुहाङ्ग राईका अनुसार मह आम्दानीको राम्रो स्रोत बनेको छ ।

“म आफैंले १८ वटा आधुनिक घारमा मौरी पालिरहेको छु, जसबाट एक पटकमा एक सय केजी मह उत्पादन हुन्छ,” उनले भने, “एक वर्षमा मौरीलाई दुई देखि तीन पटकसम्म काढ्न सकिन्छ ।” स्थानीय बजारमा मह प्रतिकेजी एक हजार ५ सय मा बिक्री हुने उनको भनाइ छ ।

वडाध्यक्ष हर्कराज राईका अनुसार नागी क्षेत्रबाट एक वर्षमा एक करोड २० लाखभन्दा बढीको मह उत्पादन हुने गरेको छ । “यो क्षेत्र प्राकृतिक हिसाबले मौरीपालनका लागि उपयुक्त रहेको छ,” उनले भने, “भौगोलिक रूपमा बढी चिसो भएकाले हिउँदमा पनि मौरीपालन गर्न सहज छ । हामीले किसानलाई आधुनिक माटेघार वितरण गरिरहेका छौं ।”

“हाम्रो क्षेत्रमा मौरीपालनबाट रु एक करोड बढी आम्दानी भएको छ,” वडाध्यक्ष राईले भने, “अधिकांश किसानहरू मौरीपालनमा लागेका छन् । हामीले व्यवस्थित र प्रविधियुक्त बनाउन भूमिका खेलिरहेका छौं ।”

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए । “हामीले यहाँको कृषिको सम्भावना खोजी गरेर आवश्यक सहयोगका कार्यक्रम सञ्चालन गरिरहेका छौं,” उनले भने, “कृषिबाट नै किसानको आयस्तर बढाउने हाम्रो लक्ष्य रहेको छ ।”

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले पनि कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताइन् । “किसानलाई व्यावसायिक बनाउन उनीहरूको आवश्यकताअनुसार सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेका छौं,” उनले भनिन् ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलका अनुसार गाउँपालिका र वडासँगको सहकार्यमा मौरीपालक किसानलाई करीब ७ लाख ७० हजार बराबरको २ सय आधुनिक माटेघार वितरण गरिएको छ । उनका अनुसार गाउँपालिकाले मौरीपालनमा लागेका किसानलाई आवश्यक सहयोग गरिरहेको छ ।

स्थानीय मौरीपालक किसान शुक्रराज राईले परम्परागत रूपमा मौरीपालन गर्दै आएकोमा गाउँपालिकाबाट आधुनिक घार प्राप्त भएपछि उत्साह थपिएको बताए । “परम्परागत घारको तुलनामा आधुनिक घारबाट बढी मह उत्पादन हुन्छ,” उनले भने ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img