भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ५१ करोड ६३ लाख ४० हजार ९ सय ७० रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
सोमबार सम्पन्न चौधौँ गाउँ सभा मार्फत अरुण गाउँपालिकाकी उपाध्यक्ष विनिता ढकालले प्रस्तुत गर्नुभएको आर्थिक विनियोजन ऐन अनुसार उक्त बजेट सार्वजनिक गरेकी हुन् । उपाध्यक्ष ढकालले प्रस्तुत गर्नुभएको बजेट, नीति तथा कार्यक्रममा पालिकाको स्वास्थ्य, शिक्षा, भौतीक पूर्वाधार, विभिन्न सास्कृतीक सम्पदाको सम्र्बधन, कृषि तथा नगदे बालीको विकास, विद्युत् विस्तार र विकास एवं समाजका सबै वर्ग र क्षेत्रको समानुपातिक र समावेशी विकासलाई जोड दिएको छ ।
जस अन्तरगत गाउँपालिकामा शिक्षा क्षेत्रको विकास गर्न ई–हाजिरी तथा सिसी क्यामरा जडान, कक्षा ९ देखी प्राविधिक शिक्षा पठनपाठन, मातृभाषा सँगै अङ्ग्रेजी माध्यमबाट पठनपाठन, उच्च शिक्षाका लागी अरुण बहुमुखी क्याम्पस सञ्चालन, बालमैत्री, प्रविधिमैत्री सगै प्रत्येक वडामा एउटा नमुना विद्यालय विकास, विद्यालयमा सिकाई मेला कार्यक्रम सञ्चालन, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालयलाई सम्मान, दिर्गरोगी तथा अपाङ्गता भएका नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा, सबै वडामा वर्थिङ, पुर्ण खोप सुनिश्चितता गर्ने जनाइएको छ ।
त्यस्तै पालिका भरीका ७० वर्ष माथिका बिरामीलाई निःशुल्क एम्बुलेन्स, बहु क्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता, उन्नत खालका पशुपालनलाई प्रोत्साहन, आर्गनीक कृषि उत्पादन तथा एक घर एक उत्पादनमा जोड, बालश्रम मुक्त गाउँपालिका निमार्ण, पालिका भित्रका महत्त्वपूर्ण पर्यटकीय स्थलहरूको पहिचान गरी तिनको विकास, होमस्टे कार्यक्रम प्रवर्द्धन, एक घर एक धारा कार्यक्रम अन्तरगत खानेपानीको पहुँच विस्तार, विद्युतीकरणलाई विस्तार गरी पुर्ण उज्यालो गाउँपालिका घोषणा, मालपोत करलाई ५० प्रतिशत छुट, सहकारीलाई व्यवस्थित तथा प्रभावकारी सञ्चालनको व्यवस्था गर्ने सिमटारमा कोकटिग्राम निमार्ण, न्यायिक प्रक्रियामा डिजिटल जस्टिस सिस्टम तयार गरी लागु गर्ने,स्थानीय सरकार रोजगारको आधारलाई निरन्तरता दिने, वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित गर्न सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रमहरूलाई विशेष जोड दिने योजना पेस भएको छ ।

गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष शालिकराम खत्रीले स्थानीय सरकारसँग भएको सीमित श्रोतले जनताका असीमित मागहरू एकै चोटि पुरा गर्न नसक्ने भएकाले प्राथमिकताका आधारमा क्रमशः पुरा गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
साथै चौधौँ गाउँ सभाले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायत गाउँपालिकासँग सरोकार राख्ने सबैले पालिकाको दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागी नेपालको संविधान तथा सङ्घीय, प्रदेश र स्थानीय कानुनद्वारा प्रदत्त हक अधिकारको प्रयोग गर्न तथा कानुनतः निर्देशित काम, कर्तव्य र दायित्व निर्वाह गर्न सबैमा आग्रह समेत गरे ।