धनकुटा | धनकुटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब १२ करोड २० लाख ७६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको बाह्रौं बैठकमा उपप्रमुख भीमादेवी खनालले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा चालुतर्फ ५१ करोड २३ लाख ४० हजार रुपैयाँ छ भने पुँजीगत खर्च ६० करोड ७७ लाख ३६ हजार रुपैयाँ रहेको जनाइएको छ । संघीय सरकारबाट आउने समानीकरण अनुदान १२ करोड ७८ लाख, सशर्त अनुदान ६८ करोड २० लाख ९३ हजार तथा समपूरक अनुदान १ करोड ५ लाख रहने जनाइएको छ ।
यसैगरी, बजेटमा विशेष अनुदानवापत २ करोड ७० लाख, प्रदेशको समानीकरण अनुदान ८० लाख ३५ हजार, सशर्त अनुदान १ करोड ५३ लाख ८३ हजार रहने जनाइएको छ । यस्तै, प्रदेशको समपूरक अनुदान १ करोड ३० लाख रहने उपप्रमुख खनालले उल्लेख गरिन् ।
आन्तरिक स्रोतबाट १० करोड ८९ लाख, ५२ हजार प्राप्त हुने बजेटमा उल्लेख छ । यस्तै, राजश्व बाँडफाँटतर्फ संघीय सरकारबाट १० करोड ५६ लाख, प्रदेश सरकारबाट ७६ लाख ९२ हजार, स्थानीय र मालपोत गरी ६० लाख, सडक बोर्डबाट ९० लाख रहने जनाइएको छ ।
नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको बैठकमा प्रस्तुत गरिएको बजेटमा स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, वातावरण, फोहरमैला तथा विपद् व्यवस्थापन लगायत विषयलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
त्यसै अवसरमा नगर प्रमुख तामाङद्वारा नगरपालिकाको आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको प्रवक्ता जमसेर राईले जानकारी दिए ।