भोजपुर | भोजपुरको आमचोक गाउँपालिकामा दाक्बुराङ वनस्पति उद्यान निर्माण गरिएको छ, जसले पर्यटकीय क्षेत्रको विकास र विभिन्न जातका बोटविरुवाको खोज तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आमचोक गाउँपालिकाको वडा नं. २ मा पर्ने यूँमा निर्माण थालिएको यो उद्यान समुद्री सतहबाट २३०० मिटरको उचाइमा अवस्थित छ। आर्थिक वर्ष २०७७/७८ मा निर्माण कार्य सुरु भएको यस उद्यानलाई वनस्पति विभागको अवधारणाअनुसार तयार पारिएको हो।
उद्यान निर्माणका लागि कोशी प्रदेश सरकारको बजेट अन्तर्गत डिभिजन वन कार्यालयले जिम्मेवारी लिएको छ। हालसम्म तीनवटा आर्थिक वर्षमा प्रदेश सरकारबाट विनियोजित ७८ लाख रुपैयाँ बजेट खर्च भइसकेको छ। उद्यानमा मध्यपहाडी क्षेत्रमा पाइने विभिन्न प्रजातिका वनस्पतिहरूको खोज, सङ्कलन र रोपण गर्ने कार्य भइरहेको छ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खुद्रुस मियाँका अनुसार उद्यानमा पहाडी क्षेत्रको उच्च भागमा पाइने विभिन्न जातका जडीबुटी, रैथाने प्रजातिका वनस्पति, विभिन्न जातका लालीगुँरास, र सौन्दर्यजन्य बोटविरुवा सङ्कलन गरी रोप्ने योजना रहेको छ। २०० रोपनी क्षेत्रफलमा फैलिएको उद्यानको १० रोपनीमा आवश्यक संरचना निर्माण गरिएको छ, जसमा प्रशासनिक भवन, अनुसन्धान केन्द्र भवन, प्रदेशद्वार, तीनवटा विश्रामस्थल, शौचालय, टायल बिच्छ्याउने कार्य र उद्यान क्षेत्रको घेराबारा गर्ने कार्य सम्पन्न भइसकेको छ।
डिभिजन वनका अधिकृत कपिलदेव अधिकारीले उद्यानमा विभिन्न जातका बोटविरुवाको नर्सरी पनि निर्माण गरिएको जानकारी दिए। यो आवमा उद्यानको थप विकासका लागि प्रदेश सरकारबाट २० लाख रुपैयाँ विनियोजन भएको छ।
डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले उद्यान निर्माणले यहाँको पर्यटकीय क्षेत्रको संरक्षणसँगै स्थानीयवासीको आयआर्जन वृद्धिमा सहयोग पुग्ने बताए। उनले उद्यानको थप विकास र संरक्षणमा स्थानीय नागरिक र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईका अनुसार दाक्बुराङ वनस्पति उद्यानले गाउँपालिकाको पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउनेछ। यसैगरी, उद्यानलाई पर्यटकीय गन्तव्य र अनुसन्धान केन्द्रका रूपमा विकसित गर्ने लक्ष्य रहेको छ।