Friday, December 6, 2024

‘बसन्त’

नाम एक व्यक्तिको परिचय हो। यसले उसको व्यक्तित्व र भविष्यको झलक पनि गराउँछ भन्ने गरिन्छ । आज म तपाईंहरूसँग मेरो जीवनको एउटा अत्यन्तै महत्त्वपूर्ण र गहिराइबाट जोडिएको विषयबारे रोचक कुरा गर्न लागेको छु। अरुदिन भन्दा फरक शीर्षकमा लेख्ने सोच आयो, ‘समाज र अपराध’को विषयमा लेखिरहेको म, यो विषय भने केही नौलो नै छ । तर, लाग्छ रोचक हुनेवाला छ । समय सान्दर्भिक हुँदैन कि? भन्ने प्रश्न मेरो मनमा पनि उठेको छ । लेख्न त, बसन्त ऋतुकै समयमा लेखेको हुँ । त्यतिबेला प्रकाशन गर्नको हतारो थानिन, केही थपे, केही हटाए र अहिले प्रकाशनको लागि पठाएको हुँ ।

मेरै नाम “बसन्त” जसले मलाई जीवनप्रति आशावादी बनाएको छ, नयाँ अनुभवहरूप्रति उत्सुक बनाएको छ र मेरो व्यक्तित्वलाई अनन्य रूपमा तयार पारेको छ। किन सुनाउदै छस् त्? भन्ने तपाईहरुको मनाम कुरा भने उठिसक्यो होला । केही मिनेट मेरै लागि खेर फाल्नुस अब, फरक बिषयको प्रयास तपाईहरुकै लागि गरेको हुँ ।

धेरैको सोचाईमा बसन्त भनेको फागुन-चैत्र महिनामा आउने मौसम हो। तपाइले पनि यहि सोच्नु भएको हो छ भने नरिसाउनुस है, यो सोचाइ अत्यन्तै संकुचित र सतही हो। बसन्त शब्द संस्कृत भाषाबाट आएको हो र यसको अर्थ ‘नयाँ जीवन र आशाको प्रतीक’ हुन्छ।

खासगरी, बसन्त ऋतु आगमन नहुँदासम्म मानव जीवनमा पनि नवजीवन, आशा, उमङ्ग र उत्साह आउन सक्दैन भन्ने गरिन्छ । प्रकृतिमा बसन्तको आगमन नहुँदासम्म हाम्रो जीवन वसन्तविहीन बनिरहन्छ रे! जसले जीवनलाई जड, निरासाजनक र उर्जाहीन बनाउँछ भनिन्छ।

जसरी बसन्त आउँदा प्रकृतिमा हरियाली फैलिन्छ, फूल फुल्छन्, चराचुरुङ्गीहरूको चहलपहल बढ्छ त्यसरी नै मानव जीवनमा पनि नयाँ आशा, नयाँ उमङ्ग र नयाँ जोस भरिन्छ । बसन्तको आगमनले नयाँ बहार र रौनक पनि ल्याउँछ। यसकारण, बसन्त मनमा नयाँ उत्साह भर्न र जीवनलाई सार्थक बनाउन आवश्यक छ।

स्वाभाविक रूपमा, यो कुरा मेरो जीवनमा पनि लागू हुन्छ। पत्रकारिता क्षेत्रमा काम गरिरहेको मलाई सधैं नयाँ कुराप्रति उत्साह पलाउँछ । हरपल मलाई नयाँ आरम्भ, नयाँ सोच र नयाँ अभिप्रेरणाप्रति आकर्षण हुन्छ। जसरी बसन्तमा प्रकृतिले नयाँ रूप लिन्छ त्यसरी मलाई पनि जीवनमा हरपल नयाँ परिवर्तन र नयाँ उपलब्धि गर्ने अवसर खोज्ने बानी परेको छ।

बसन्त ऋतुले शान्ति, सहजता र सुन्दरताको पनि प्रतीक गर्छ। बसन्त प्राणमय, शान्त र सुकुमार हुन्छ। माटोबाट उम्रने सुगन्धित मन्द बतासले यस ऋतुलाई अझ मनोरम बनाउँछ। मेरो व्यक्तित्वमा पनि यी गुणहरू प्रस्फुटित भएका छन् जस्तो लाग्छ। जीवनप्रति शान्त दृष्टिकोण, जटिल कुरालाई सरल रूपमा लिने आदत र सुन्दरतामा मग्न हुने प्रवृत्ति मलाई मेरो नामले नै प्रदान गरेको जस्तो लाग्छ। छैन र?

यसरी बसन्त शब्दसँगै आबद्ध भएकाले म सधैं नयाँ अनुभवहरू लिन उत्सुक रहन्छु। थकित दिनचर्यामा पनि नयाँ जोस र उमङ्ग थप्नका लागि म पुरानालाई नोक्सान पुर्याउँदिन। बरु मैले नयाँलाई स्वागत गर्छु ताकि मेरो जीवनमा फेरी एकपल्ट बसन्तको महक आउन सकोस्।

कसैले मलाई “बसन्त भाई” भनेर बोलाउँदा बडो मीठो लाग्छ। यो गहिरो सम्मान र आदरको संकेत हो मेरोलागि । कारण, बसन्त ऋतु भनेकै उत्साह, शान्ति र सुन्दरताको बिम्ब हो। त्यसैले कोही मलाई त्यसरी बोलाउँदा बडो घमण्ड र अहंकार होइन बरु भित्री संतुष्टि र हर्ष महसुस हुन्छ।

सधैं नयाँ अनुभव गर्न खोज्नु र अरूसँग बाँड्नु मेरो स्वभाव बनिसकेको छ। किनभने बसन्तको यही मूल्य र मर्म मैले आत्मसात गरेको छु। अनि जब म यसरी अरूसँग बाँड्छु तब मेरो जीवनमा एकपल्ट फेरि बसन्तको बहार आउँछ। जस्तो कि म भन्दै थिएँ, बसन्तको अर्थले मेरो जीवनलाई गहिरो रूपमा प्रभावित गरेको छ। सधैं नयाँ कुरा गर्ने चाहना, शान्ति र सुन्दरताको महसुस, र अनुभवहरू अरूसँग बाँड्ने बानी मेरो अविभाज्य अंग बनिसकेका छन्।

त्यसमाथि, बसन्त ऋतुले जस्तै मेरो जीवनमा पनि उत्सव र खुसियालीको भाव सधैं बर्सेको छ। जीवनकै हरेक पलमा उत्सव मनाउनु मेरो स्वभाव बनिसकेको छ। महत्त्वपूर्ण कुरा के हो भने यो कुनै धार्मिक वा चाडवाडसित जोडिएको होइन। यो त केवल जीवनको रसास्वादन मात्र हो।

मलाई त जीवनमा साधारण कुराहरू नै खुसी दिन्छन्। किताब पढ्नु, मित्रहरूसँग गफगाफ गर्नु, अग्रज दाईहरुसंग भेटघाट गर्नु, घाम र हावाका मिश्रणको अनुभवका लिनु जस्ता फाईदाकर कुराहरू मलाई सन्तुष्ट तुल्याउनका लागि पर्याप्त छन्। शायद यो मेरा आमाबुबाले मलाई दिएको सबभन्दा महत्त्वपूर्ण पाठ हुनुपर्छ। उहाँहरूले मलाई ‘बसन्त’को गरिमा र महत्त्वबारे धेरै कुरा नभनेपनि, धेरै अर्थ दिने सुन्दर नाम दिनुभएको छ ।

मानौं कि जीवन एउटा बगैंचा हो । बसन्त केवल एक मौसम मात्र होइन। यो त एउटा जीवनशैली पनि हो। र म यो जीवनशैली आत्मसात गर्न पाउँदा गर्व महसुस गर्छु। मेरो नामअनुरूप जीवन बिताउनु मेरा लागि धर्म बनिसकेको छ। केही समयअघि मात्रै पत्रकारिताको क्षेत्रमा प्रवेश गरेको भए पनि यस क्षेत्रमा आफ्नै ‘बसन्त’ ल्याउने प्रयास गरिरहेको छु।

ठूला-ठूला सपनाहरू बोकेर नभई हरेक सानोतिनो कामप्रति समर्पित भएर, नयाँ सिकाइहरूलाई आत्मसात गरेर र आफ्नो व्यवसायलाई सरल र सुन्दर रूपमा लिएर मैले आफ्नो जीवनलाई नै ‘बसन्त’ बनाउन खोजेको छु। बसन्तको परिभाषा अनुसार जीवन अर्थपूर्ण मात्र होइन, यसले सधैं खुशीयाली र सन्तुष्टि पनि प्रदान गर्नुपर्छ।

यसैकारण जब कोही मबाट “तिम्रो जीवन कस्तो छ बसन्त भाई?” भनेर सोध्छन्, मलाई बसन्त ऋतुको सुगन्ध उम्रन लाग्छ। अनि म आफूलाई धन्य ठान्छु कि मलाई जीवनको प्रत्यक पलमा “बसन्त” मनाउने अवसर प्राप्त भएको छ। यी मेरा गन्थन हुन् । यी मेरा काँचा कुरा हुन् । जुन मैले बिरलै लेख्ने गर्छु ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img