हेटौँडा | मंसिर १६ गते हुने उपनिर्वाचन नजिकिँदै गर्दा हेटौंडा-१२ मा राजनीतिक दलहरूले मतदाताको मन जित्न तीव्र अभियान सञ्चालन गरिरहेका छन्। पुराना र नयाँ उम्मेदवारहरूले बिहानदेखि बेलुकासम्म मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो एजेण्डा प्रस्तुत गर्न समय बिताइरहेका छन्।
अर्जुनप्रसाद तिवारी: झिनो मतको हारपछि पुनः मैदानमा
नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी विगतमा झिनो मतले वडाध्यक्ष पद गुमाएका थिए। अहिले उनी विगतका उपलब्धिहरू र विकासप्रतिको प्रतिबद्धता मतदातासमक्ष राख्दै घरदैलो अभियानमा सक्रिय छन्। तिवारीले भने, “यो पटक मतदाताले विगतमा थोरै मतले पराजित भए पनि जनताको सेवामा निरन्तर खटिएको मर्मलाई बुझेर मलाई जिताउनेछन्।”
राजेश नगरकोटी: एमालेको नयाँ रणनीति
नेकपा एमालेका उम्मेदवार राजेश नगरकोटी विगतको तेस्रो स्थानबाट अघि बढ्न व्यापक तयारीमा छन्। उनको टोलीले वडाका विभिन्न टोलहरूमा संगठित रूपमा मतदातासँग भेटघाट गरिरहेको छ। नगरकोटीको दावी छ, “मतदाताले नयाँ जोश र एजेण्डा बोकेको नेतृत्व रोज्नेछन्।”
माओवादी केन्द्रको दबाबपूर्ण स्थिति
माओवादी केन्द्रका उम्मेदवार रविन प्रधान आफ्नो दलको हेटौंडा-१२ मा झण्डा गाड्न सफल हुने एकमात्र वडालाई जोगाउन हरसम्भव प्रयास गरिरहेका छन्। उनले मतदातालाई विकास र समृद्धिको वचन दिँदै आफ्नो पक्षमा माहोल बनाउन जोड दिएका छन्।
अन्य दल र स्वतन्त्र उम्मेदवारको अभियान
राप्रपाका प्रेम भोलन र राष्ट्रिय स्वतन्त्र पार्टीका आशावीर बलले पनि वडाध्यक्ष पदका लागि व्यापक जनसंपर्क अभियान चलाइरहेका छन्। अन्य स्वतन्त्र उम्मेदवार पनि आफ्नो अद्वितीय एजेण्डा प्रस्तुत गर्दै मतदातासँग संवाद गरिरहेका छन्।
२०७९ सालको निर्वाचनमा ६४६५ मतदाता रहेको यस वडामा अहिले मतदाताको संख्या बढेर ८०५३ पुगेको छ। ३१ महिनाको अन्तरालमा १५८८ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन कार्यालयका अनुसार मतदातामध्ये ३८७८ पुरुष र ४१७४ महिला छन्।
उम्मेदवारहरू मूल सडक र टोल मात्र होइन, खेतबारी र व्यस्त जनजीवनसम्म पुगेर मतदातासँग संवाद गरिरहेका छन्। मतदाताहरूले घरदैलोमा पुगेका उम्मेदवारलाई आ-आफ्नो वडाको समस्या र अपेक्षा राखिरहेका छन्।
चुनावी माहोल चर्किंदै जाँदा, मंसिर १६ को दिन कुन उम्मेदवारले वडाध्यक्ष पद जित्ने भन्ने प्रश्न हेटौंडा-१२ का मतदातामाझ मुख्य चासोको विषय बनेको छ।