काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मुख्य सबैजसो इन्टरनेट सेवाप्रदायकलाई कारबाही गर्ने भएको छ । नियम विपरित बन्डलिङ अफर ल्याएको र स्वीकृत नलिई इन्टरनेट प्याकेज बिक्री गरेको भन्दै सेवाप्रदायकमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।
केही साता अघि बसेको प्राधिकरण बोर्ड बैठकले कारबाही किन नगर्ने भन्दै सुबिसु, वर्ल्डलिङ्क, भायानेट, सीजी, वाईफाई नेपाल, वेबसर्फर, क्लासिक टेक, डिशहोम र म्याक्स नेटलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण पेस गर्न दिइएको १५ दिने समय सीमा भित्र अधिकांश कम्पनीहरूबाट जवाफ प्राप्त भएको प्राधिकरण स्रोतले जनाएको छ ।
प्राप्त जवाफका आधारमा थप कारबाही प्रक्रिया अगाडि बढ्ने बताइएको छ । सुबिसु केबल नेट प्रालिले नयाँ लोडेड अफर अन्तर्गत तेज फुल अफर, झक्कास, शुभकामना अफर र आईपीटिभी सेवाका प्याकेजहरूको मूल्य बण्डलिङ गरी तय गरेको भनाई प्राधिकरणको छ ।
त्यस्तै कम्पनीमाथि स्वीकृत नगराई महशुल दर लागू गरी अनुमतिपत्रको शर्त विपरितको कार्य गरेको अभियोग समेत छ । त्यस्तै वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले प्राधिकरणको निर्देशन विपरित फेस्टिभिटी अफर, स्मार्ट अफर, राउटर अफर लगायत सञ्चालन गरेको देखिन आएको बताइएको छ ।
वास्तवमा इन्टरनेट सेवाप्रदायकले ‘स्पिड वार’का क्रममा प्रतिस्पर्धी कम्पनीको तुलनामा सस्तो मूल्यमा हाइ स्पिड इन्टरनेट दिने भन्दै ग्राहकलाई आफ्नो सेवातर्फ आकर्षित गर्न नियामकको स्वीकृति नलिई इन्टरनेट प्याकेज बिक्री गरेका थिए । स्वीकृति नलिई एउटा कम्पनीले सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेसँगै अन्य कम्पनीहरू समेत आफ्ना ग्राहक जोगाउनकै लागि हतारमा सोही प्रकारका प्याकेज ल्याउने प्रतिस्पर्धामा उत्रिएका हुन् ।
जवाफ चित्त बुझ्दो नभएको खण्डमा निर्देशन पालना नगर्ने सेवाप्रदायकलाई ५० हजार रुपैयाँसम्म जरिवाना र स्वीकृति नलिई प्याकेज बिक्री गर्ने कम्पनीलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्राधिकरणले जनाएको छ ।