काठमाडौं: नेपालमै विद्युतीय सवारी साधन बनाउन सुरु गरेको यात्री मोटरसाइकल गम्भीर समस्यामा परेको छ । सरकारले नेपालमा बनेका सवारी साधनलाई बेवास्ता गरिदिदा करिब आठ महिनादेखि यात्रीको
उत्पादन बन्द भएको हो ।
कम्पनीले बारम्बार आफ्नो समस्या स्पष्ट पारेर अनुरोध गर्दा समेत अनपेक्षित रुपमा सरकारले नेपालमै बनेका सवारी साधन दर्ता हुन नसक्ने समस्या समाधान गरिदिएको छैन । केही समयदेखि यात्रीका विद्युतीय मोटरसाइकल सडकमा बिना नम्बर प्लेट नै गुडिरहेका थिए । तर पछिल्लो समय ट्राफिक प्रहरीले नम्बर प्लेट नभएकै कारण देखाउँदै नियन्त्रणमा लिन थालेपछि कम्पनीका ग्राहक समस्यामा परेका छन् । यसबाट यात्रीका ग्राहक मात्रै निरुत्साहित भएका छैनन् ।
सेप्टेम्बर २०२२ देखि यात्री मोटरसाइकल उत्पादन नै बन्द भएको छ र कम्पनी गम्भीर समस्याको स्थितिमा पुगेको छ । नेपालमै विद्युतीय सवारी साधन विकास गर्ने उद्देश्यका साथ ६ डिसेम्बर २०१७ मा यात्री मोटरसाइकल नामक कम्पनी स्थापना भएको थियो ।
त्यसयता कम्पनीले विद्युतीय मोटरसाइकल निर्माणको क्षेत्रमा काम गर्दै आएको छ । कम्पनी स्थापना भए लगत्तै विभिन्न मन्त्रालय र विभागहरूमा आफूहरूले अनुमति र प्रमाणपत्रका लागि आवेदन दिन सुरु गरिएको यात्रीले जनाएको छ ।
त्यसक्रममा यातायात व्यवस्था विभागले यात्रीलाई आफ्नै च्यासिस बनाउन अनुमति पनि दिएको हो । अन्य कम्पनीहरूले नेपालमा एसेम्बल गर्नेगरी आवश्यक विभिन्न पार्टपुर्जाको विदेशी उपकरण निर्माताबाट खरिद गरी ल्याउने गरेका छन् ।
तर यात्रीलाई आफ्नै च्यासिस बनाउन पाउने गरी विभागले दिएको उक्त अनुमतिले अन्य कम्पनीहरूबाट अलग पहिचान दिएको थियो ।
कार्यालयले कुनै पनि सवारी दर्ता गर्न सम्बन्धित साधनको सवारी पहिचान नम्बर (भीआईएन) खोज्छ, जुन च्यासिस र इन्जिनमा उल्लेख गरिएको हुन्छ । यात्री विद्युतीय मोटरसाइकल भएकाले कम्पनीले मोटर नम्बर राखेको थियो ।



