Friday, October 4, 2024
खेल समाचारऐतिहासिक क्वार्टर फाइनलमा भिड्दै इङ्ल्यान्ड र फ्रान्स

ऐतिहासिक क्वार्टर फाइनलमा भिड्दै इङ्ल्यान्ड र फ्रान्स

इङ्ल्यान्ड र फ्रान्स ४० वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा भिड्न लागेका छन्।

फिफा विश्वकपको अन्तिम क्वार्टर फाइनल खेल आज राति १२:४५ बजे कतारको अल बयट रंगशालामा हुनेछ। यो रंगशालाको क्षमता ६८ हजार ८९५ दर्शक अटाउने रहेको छ।

इङ्ल्यान्ड र फ्रान्सको क्वार्टर फाइनल खेललाई ऐतिहासिक भनिएको छ। किनकि, इङ्ल्यान्ड र फ्रान्स सन् १९८२ पछि पहिलो पटक विश्कपमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

सन् १९८२ को विश्वकपको समूह चरणको खेलमा इङ्ल्यान्डले फ्रान्सलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो। त्यसअघि सन् १९६६ को समूह चरणको खेलमा पनि इङ्ल्यान्डले फ्रान्सलाई २-० ले पराजित गरेको थियो। अहिलेसम्म विश्वकपमा दुई देशबीच भएका दुवै खेल इङ्ल्यान्डले जितेको छ।

यस पटक प्रि-क्वार्टर फाइनलमा सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्ड क्वार्टर फाइनलमा पुगेको हो। समूह चरणमा पनि इङ्ल्यान्डले हार बेहोर्नु परेन। समूह ‘बी’मा इङ्ल्यान्डले वेल्स र इरानलाई पराजित गर्‍यो भने अमेरिकासँग बराबरी खेल्यो।

त्यस्तै, फ्रान्स पनि प्रि-क्वार्टर फाइनलमा पोल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यसअघि समूह चरणमा ट्युनिसियासँग हार बेहोरेको थियो भने डेनमार्क र अस्ट्रेलियालाई पराजित गरेको थियो।

पछिल्लो पाँच खेलमा फ्रान्सले तीन खेल जितेको छ भने दुई खेल हारेको छ। इङ्ल्यान्डले भने तीन खेल जित हासिल गर्दा दुई खेल बराबरीमा टुंग्याएको छ।

विश्वकप नकआउट चरणको रिकर्ड भने फ्रान्सको पक्षमा देखिन्छ। फ्रान्सले अहिलेसम्म विश्वकपमा युरोपियन टोली विरुद्ध खेलका नकआउट चरणका १० खेलमा आठ खेल जितेको छ। जबकि, इङ्ल्यान्डले युरोपियन टोली विरुद्ध नकआउट चरणमा खेलेका आठ खेलमा चार खेल मात्रै जितेको छ भने ६ खेलमा हार बेहोरेको छ।

यो विश्वकपमा इङ्ल्यान्डले १२ गोल गरेको छ भने फ्रान्सले नौ गोल गरेको छ। फ्रान्सका लागि केलियन एम्बापेले मात्रै पाँच गोल गरेका छन्। आजको क्वार्टर फाइनल खेलमा पनि इङ्ल्यान्डका लागि एम्बापे नै चुनौती बन्ने आकलन गर्न थालिएको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img