काठमाडौं | जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ। पूर्वानुमान अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहने छ । केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश प्रदेश र अन्य क्षेत्रमा एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने प्रक्षेपण छ ।
शनिबार भने कोशी, बागमती, गण्डकी र मधेश प्रदेशमा आंशिकदेखि साधारण बदली रहने छ । पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ । दिउँसो र राति समान मौसम अवस्था रहने छ ।
त्यस्तै, आइतबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रहने छ । राति भने उक्त प्रदेशहरूमा आंशिकदेखि साधारण बदली कायमै रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना समेत रहेको छ ।
मौसम विभागका अनुसार अधिकांश क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहने अनुमान गरिएको छ। तर पहाडी भू-भागमा भने वर्षाको सम्भावना बढी रहेको जनाइएको छ। यात्रा गर्ने र खेतीपातीमा संलग्न हुने व्यक्तिहरूलाई सावधानी अपनाउन सुझाव दिइएको छ।