हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने एक प्रमुख वैकल्पिक मार्ग कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जेठ २ गतेदेखि २० गतेसम्म सडक स्तरोन्नति तथा कालोपत्रे कार्यका लागि सवारी आवागमन पूर्णरूपमा बन्द गरिने जानकारी दिएको हो।
पूर्वाधार विकास कार्यालय, हेटौँडाको अनुरोधमा इन्द्रसरोवर गाउँपालिकाभित्र पर्ने खण्डमा मर्मत कार्य तीव्र रुपमा भइरहेको र त्यसले सवारी सुरक्षामा जोखिम निम्त्याउन सक्ने भएकाले यो निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको छ।
“निर्माण कार्यलाई तीव्र र सुरक्षित ढंगले सम्पन्न गर्नका लागि सवारी आवागमन पूर्ण बन्द गर्नुपरेको हो,” – जिल्ला प्रशासन कार्यालय, मकवानपुर।
यस अवधीमा यात्रु तथा सवारी चालकहरूलाई कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।



