समाजचलचित्र पत्रकारिता दिवसको अवसरमा वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्ने

चलचित्र पत्रकारिता दिवसको अवसरमा वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्ने

हेटौँडा | चलचित्र पत्रकारिता दिवसको अवसर पारेर चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले चलचित्र पत्रकारिता तथा कलाक्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई यस वर्ष विभिन्न विधामा सम्मान गर्ने निर्णय गरेको छ। मंगलबार बसेको संघको बैठकले वरिष्ठ चलचित्र पत्रकार, रंग सम्पादक तथा रेडियो सञ्चारकर्मीलाई पुरस्कारसहित सम्मान गर्ने निर्णय लिएको हो।

संघका अध्यक्ष कपिल खड्काका अनुसार, वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्लेलाई “नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०८२” बाट सम्मान गरिनेछ। वाग्ले लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय रहँदै आएका छन्। उनले चलचित्र समालोचना, अन्तर्वार्ता र विश्लेषणमार्फत नेपाली सिनेमाको अध्ययन र प्रचारमा महत्वपूर्ण भूमिका खेलेका छन्।

त्यस्तै, कलाकर्मी सम्मान २०८२ बाट चलचित्र रंग सम्पादक रेनिश फागोलाई सम्मान गरिने भएको छ। फागो मकवानपुरमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रको दृश्य सम्पादन (color grading) क्षेत्रमा सशक्त पहिचान बनाएका व्यक्तित्व हुन्। नेपाली सिनेमा पोस्ट-प्रोडक्सनमा टेक्निकल सुधार ल्याउने काममा उनले उल्लेखनीय योगदान दिएका छन्।

यसैबीच, चलचित्र पत्रकारिता पुरस्कार २०८२ को रूपमा मकवानपुरमै रहेर लामो समयदेखि रेडियो पत्रकारितामा क्रियाशील रहनुभएका गोकुल अधिकारीलाई पुरस्कृत गरिने संघले जनाएको छ। रेडियो थाहा सञ्चारमा स्टेशन म्यानेजरका रूपमा कार्यरत अधिकारी विगत दुई दशकदेखि निरन्तर पत्रकारितामा सक्रिय छन्। उनले फिल्म, संस्कृति, र सामाजिक विषयमा नियमित कार्यक्रम सञ्चालन गर्दै जनचेतनाका विषय उठाउँदै आएका छन्।

चलचित्र पत्रकारिता दिवसकै अवसरमा यस वर्ष पहिलोपटक चलचित्र अभिनय गरेर चर्चा कमाएकी बालकलाकार शुपला सापकोटालाई पनि “प्रशंसा पत्र” द्वारा सम्मान गरिने संघले जनाएको छ। शुपलाले सानो उमेरमै अभिनय क्षमताले दर्शकको ध्यान तान्न सफल भएकी छन्। संघले उनलाई प्रोत्साहनस्वरूप अभियान यात्रामा अझ सफलता मिलोस् भन्ने उद्देश्यसहित सम्मान गर्न लागेको हो।

संघका अध्यक्ष खड्काका अनुसार, प्रत्येक वर्ष जेष्ठ ७ गते चलचित्र पत्रकार संघको स्थापना दिवसलाई चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउने गरिएको छ। यस अवसरमा चलचित्र पत्रकारिता, कला र संस्कृति क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई पहिचान, सम्मान र प्रेरणास्वरूप पुरस्कार तथा सम्मान प्रदान गरिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img