काठमाडौं: असार १५ नेपाली कृषकहरूका लागि ज्यादै रमाइलो दिन हो। कृषकहरू धेरै पहिलेदेखि असार १५ को प्रतीक्षा गर्दछन् र त्यस दिन खेतमा रमाइलो गरी हिलो खेलेर धान रोप्ने गर्दछन्। कृषकहरूले धान त असार १५ भन्दा पहिले र पछि पनि रोप्छन्। तर त्यस दिन रोप्नुको महत्व नै अर्कै हुन्छ।
१. असार १५ रमाइलो दिन मात्र होइन, महत्वपूर्ण दिन पनि हो। त्यस दिन माना रोपेर मुरी फलाउने उक्ति नै प्रचलित छ। धानको उत्पादनले नेपाली कृषकहरूको जीवनमा मात्र होइन, समुचा राष्ट्रको जीवनमा पनि प्रभाव पार्दछ। धानको उत्पादन राम्रो भएमा त्यसले हाम्रो आर्थिक जीवनमा सकारात्मक प्रभाव पार्दछ।
२. असार १५ पहिले कृषकको लागि मात्र महत्वपूर्ण दिन थियो भने अहिले यो दिनको महत्व व्यापक भएको छ। गीत गाउनेहरू पनि असारमा रमाउँछन्। असारे गीतको भाखा भन्नासाथ लोभिनेहरू धेरै छन्। जनकवि केशरी धर्मराज थापाले ” हो हो माले हो हो ” भन्ने गीत गाए पछि यसको महत्व अरु बढेको छ।
३. पर्यटन क्षेत्रमा लागेकाहरूले पनि असार १५ को महत्व बढाएका छन्।पहिले असार १५ मा कृषकहरू मात्र हिलो खेल्थे र धान रोप्थे भने अहिले पर्यटन व्यवसायीहरू पनि खेतमा झरेका छन्। हिलो खेल्ने गरेका छन्। पर्यटन व्यवसायीहरू मात्र होइनन् उनीहरूले विदेशी पर्यटकहरूलाई समेत हिलो खेल्न लगाएका छन्।
४. पर्यटन उद्योगसँग सम्बन्धित संघसंस्थाहरूले हिलो खेतमा विभिन्न खेलको प्रतियोगिता र प्रतिस्पर्धा गरेर यसमा नया आयाम थपेका छन्। ती प्रतियोगिताले असार १५ को महत्व अरु वृद्धि भएको छ। शहरका सुकिला मुकिलाहरूदेखि राजनीतिक नेताहरू पनि हिलो खेतमा देखिन थालेका छन्।
असार १५ को हिजो सांस्कृतिक महत्व थियो भने अहिले त्यसको आर्थिक महत्व पनि भएको छ। पर्यटकहरूलाई हिलो खेतमा लैजानमा पोखराका पर्यटन व्यवसायीहरूले सिर्जनात्मक भूमिका खेलेका छन्। अहिले अरु ठाउँहरूमा पनि पोखरेली व्यवसायीहरूले गरेझैं विदेशी पर्यटकहरूलाई खेतमा लैजान थालेका छन्।
५. असार १५ मनाउने तौर तरिकामा धेरै परिवर्तन आएको छ। हिजो दही चिउरा खाएर दिनभरि खेतमा काम गर्दथे भने अहिले केही ठाउँमा होटलको परिकार पस्कने गरिएको छ। २/३ घण्टा रमाइलो गरी जानेहरूको संख्या बढ्दै छ। गीतको भाखा पनि फेरिन थालेको छ। परिवर्तन त आयो, नयाँ किसिमले रमाइलो पनि भयो। तर यसको मौलिकता कतै लोप होला कि भन्ने आशंका उत्पन्न भएको छ।