काठमाडौं। काठमाडौंको गौशाला चोकमा एउटै नम्बर प्लेटका दुई मोटरसाइकल फेला परेका छन्।
आज बुधबार बिहान गौशाला चोकमा जाम भएको समयमा एकै नम्बर प्लेट भएका मोटरसाइकल एकैसाथ देखिएपछि मानिसहरुले फोटो खिचे।
यतिबेला सो फोटो निकै भाइरल भएको छ। मानिसहरुले जुम्ल्याहा मोटरसाइकल भेटियोसम्म भन्न भ्याएका छन्। तस्बिरमा देखिएअनुसार दुवै मोटरसाइकलका चालकले रेनकोट ओडेका छन् र एक जनाले भने नम्बर प्लेट एउटै देखेपछि आश्चर्यमा परेर अर्को बाइकतर्फ हेरिरहेको देखिएको छ।
सो दुवै मोटरसाइकलको प्लेटमा एकै नम्बर थियो– ‘बागमती प्रदेश ०२, ०२२ प, २३ ८० ’। एकै नम्बर प्लेटका मोटरसाइकलको फोटो भाइरल भएपछि ट्राफिक प्रहरीले यो विषयमा अनुसन्धान थालेको छ। प्रहरीका अनुसार एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएकाको साथमा कागजपत्र रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जीव दासले बताएका छन्।
उनका अनुसार नियन्त्रणमा परेका व्यक्तिसँग मोटरसाइकलको सम्पूर्ण कागजात छ र सो नम्बर प्लेट उनकै सवारीको हो।
प्रहरीका अनुसार अर्का व्यक्ति जसको नम्बर प्लेट त्यही छ उनको सवारी नम्बर नक्कली हुनसक्छ। अथवा उनको सवारी चोरीको हुनसक्छ।